पत्रकार आचारसंहिता जागरण कार्यक्रम सकियो

पत्रकार आचारसंहिता जागरण कार्यक्रम सकियो

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा पत्रकार आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ । आज गण्डकी प्रदेशको सदरमुकाम बागलुङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य पुण्य पौडेल, प्रेस काउन्सिल नेपालका दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी गणेश पौडेल, जिल्ला प्रहरी कार्यालयका विराट पौडेललगायतका वक्ताहरूले पत्रकार आचारसंहिता स्वयम् पत्रकारले पालना गर्नुपर्ने भए पनि अहिलेसम्म त्यसको उचित पालना नहुँदा समस्या आइरहेको धारणा राखेका थिए ।

नकारात्मक समाचारका कारण सकारात्मक समाचार प्रवाहमा परेको असरलगायतका विषयमा छलफल भएको छ । तथ्यहीन र सत्यहीन समाचारलाई नियमन गरी कारबाहीको दायराभित्र ल्याउन सकेको खण्डमा मात्रै पत्रकारिता क्षेत्रमा अहिले देखिएको विकृति कम हुनेमा उनीहरुले जोड दिएका छन् ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पढेर उपस्थित सबै पत्रकारलाई सपथ गराएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पत्रकार महासंघका उपाध्यक्ष नवीन शिशिर विकले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

टिप्पणीहरू