अदालतको पाँचौं तल्लामा हिजो झण्डै कुटाकुट

अदालतको पाँचौं तल्लामा हिजो झण्डै कुटाकुट

विवादित रोशनी शाही र उनका श्रीमान् चित्रजंगले हिजो काठमाडौं जिल्ला अदालतको पाँचौं तल्लामा आफ्नी भतिजीलाई हात हाल्न मात्र बाँकी राखे । भन्न हुने र नहुने सबै कुरा छरपस्ट पारेपछि रोशनी र चित्रजंगले पटक पटक भतिजी अर्चना दाहालमाथि झम्टेका थिए । नजिकैका अरुले ‘खबरदार,एउटी युवतीमाथि त्यो पनि अदालतभित्र हात हाल्ने प्रयास नगर्नु’ भनेपछि उनीहरु हच्किएका थिए ।

भतिजीले सामाजिक सञ्जालमा लेखेर आफूहरुको मानमर्दन गरेको भन्दै शाही दम्पतीले हालेको गाली बेइज्जती मुद्दाको हिजो अदालतमा पेशी थियो । सोही प्रयोजनको लागि त्यहाँ जाँदा दाहालमाथि काका र काकीले आक्रमणको प्रयास गरेकोलाई उनले पनि ‘हो’ भनेकी छन् ।

जिल्ला अदालतको पाँचौ तल्लामा रहेको इजलास नम्बर २५ बाहिर रोशनी र चित्रजंग भतिजीलाई देख्ने बित्तिक्कै जाइलागेका थिए । उनीहरुको चर्का स्वर सुनेर सबैले हेर्न थाले । रोशनीले चोर औंला ठड्याउँदै भतिजीलाई मुख छाड्न थालिन्, ‘तँलाई जेल हालेरै छाड्छु, तँ ..श्या, ..ण्डी, सजाय दिलाएरै छाड्छु ।’ काका भनिएका चित्रजंगले चाहिँ भण्डै हात हालेका थिए । वरिपरिकाले रोकेपछि उनीहरुले हात हाल्न भने नसकेका हुन् ।

“महराको मुद्दा टुंग्याएको काठमाडौं जिल्ला अदालतमै सामाजिक सञ्जालको गालीगलौजलाई टेकेर भतिजी अर्पनाविरुद्ध फिराद हालिएको हो ।”

न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलास बाहिर उक्त ताण्डव भएको थियो । तर हिजो उक्त मुद्दामा बहस भने भएन । साक्षी बकाउने काम मात्र भएको अदालत स्रोतले बताएको छ । ‘साक्षी बकाउने काम मात्रै भयो, रोशनी शाहीको मुद्दा फेरि सरेको छ । उनीहरुबीच मिल्ने सम्भावना देखिएको छैन,’ स्रोतले भन्यो ।

भतिजी अर्चनाले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर रोशनीले जिल्ला अदालत, काठमाडौंमा असार २३ गते गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी हुन् । हिजो त्यहि मुद्दाको पेशीको क्रममा उनीहरु त्यहाँ पुगेका थिए ।

यसअघि डिभोर्स भएको भनिए पनि अहिले रोशनी र चित्रजंग सँगै हिँड्ने र उठबस गर्ने गर्छन् । हिजो अदालतमा पनि उनीहरु सँगै छिरेका थिए । अहिले उनीहरुको बसोबास कोटेश्वर पेरिस डाँडाको फेदीतिर छ । पहिलेको डेराभन्दा केही तल्लो भागमा बस्छन् ।

सञ्चारमाध्यमप्रति रुष्ट हुँदै आएकी रोशनीले हिजो पनि भतिजीलाई झम्टिने क्रममा केही बताएकी थिइन् । ‘एकाध हजार दिएर पत्रिका र अनलाइनमा चाहिँदो नचाहिँदो छपाउने तैं होस् । सञ्चार माध्यममा जे पायो त्यहि भन्दै हिँड्ने तैं होस् ।’ सम्पत्तिको प्रसंग निकाल्दै उनले ‘२८ लाख र ३० लाखको कुरो’ समेत भनेको सुन्नेहरुले बताएका छन् ।

‘आजसम्म तपाईंले मेरालागि के गर्नुभयो ? यसको हिसाब पनि गर्नेछु,मैले रिस पोखेको होइन । आफ्नो अधिकार खोजेको हो । अधिकार मागेर पाइँदैन भने खोस्न पनि जानेको छु ।’

पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको समाचारपछि बेलाबखत चर्चामा आइरहने रोशनीले जिल्ला अदालत काठमाडौंमा आफ्नै भतिजीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएकी हुन् । उनले आफ्नै जेठाजुकी छोरीलाई कानुनी अत्तो थाप्दै आएकी छन् । महराको मुद्दा टुंग्याएको काठमाडौं जिल्ला अदालतमै सामाजिक सञ्जालको गालीगलौजलाई टेकेर भतिजी अर्पनाविरुद्ध फिराद हालिएको हो ।

अर्पनाले ज्यान मार्ने धम्कीसमेत दिएको दाबीसहित उनलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । शाहीले दाहालविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा २०६,उपदफा २ (क) र ३०७ को उपदफा २ बमोजिम कारबाहीको माग गरेकी हुन् । असार २३ गते दर्ता गराइएको फिरादपत्रमा ओखलढुंगा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बस्ने ४० वर्षका कृष्ण खत्रीलाई साक्षी राखिएको छ ।

उनीहरुबीच सुर्खेतस्थित जग्गाको मुआब्जा वितरणबाट विवाद शुरु भएको हो । यही विवाद लम्बिँदै जाँदा सामाजिक सञ्जालमा रोशनीले जेठाजुको परिवारलाई हत्याको आरोप लगाउँदै लेखिन् । त्यसैमा कमेन्ट गर्दा अहिले भतिजीले मुद्दा झेल्नुपरेको उनले बताएकी छन् ।

रोशनीले उक्त स्ट्याटस सामाजिक सञ्जालबाट धेरै पहिले हटाएकी छन् । तर, त्यसैको स्क्रिनसटका आधारमा भने मुद्दा दर्ता गरेकी हुन् । मुद्दा दर्ताअघि उनीहरूको खटपट घरभित्रै सल्टाउन पनि खोजिएको थियो । तर, रोशनीको दाउपेचका कारण उक्त विषय अदालत पुगेको हो ।

रोशनी स्वास्थ्य मन्त्रालयकी जागिरे हुन् । उनले भूमिगतकालमा माओवादी नेताहरूलाई चिनेका कारण बेलाबखत उनीहरूलाई समेत सामाजिक सञ्जालमा तथानाम गाली गर्ने गरेकी छन् ।

रोशनी आफूलाई मन नपरेका व्यक्तिमाथि तथानाम गालिगलौज गर्दै सामाजिक सञ्जाल रंग्याउने गर्छिन् । अलि अगाडि आफ्नै साथी मीना केसीलाई एचआइभी एड्स लागेको गम्भीर आरोप लगाएकी थिइन् ।

यस्तै, महरासँगको पछिल्लो घटनासँग जोड्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘प्रचण्डज्यू,महरा सरलाई दुई–तीन वटा पद दिँदा हजुरको छोरीसमान मलाई कुन पद दिनुहुन्छ ?’ उनले अगाडि लेखेकी थिइन्, ‘आजसम्म तपाईंले मेरालागि के गर्नुभयो ? यसको हिसाब पनि गर्नेछु,मैले रिस पोखेको होइन । आफ्नो अधिकार खोजेको हो । अधिकार मागेर पाइँदैन भने खोस्न पनि जानेको छु ।’

टिप्पणीहरू