तैपनि यी मान्छेले ठाउँ पाएनन्

तैपनि यी मान्छेले ठाउँ पाएनन्

मन नपरेकालाई कसरी दूधको तरमा बसेको माखोझैँ मिल्काइन्छ भन्ने उदाहरण नेकपा एमाले लमजुङमा भेटिन्छ । कार्यकर्ताको शिला खोज्नुपर्ने बेला पार्टी संगठन बचाएका योद्धा वडाध्यक्ष, उपप्रधानपञ्च, हुँदै ०५४ सालमा उपाध्यक्षतर्फ बलशाली मतले विजयी बेसीशहरका मोहन थापा हुन् वा बेनबहादुर सुँयाल, डा. बालकृष्ण बराल हुन् या तत्कालीन भलायकखर्क गाविसका अध्यक्ष ऋषिकेश घिमिरे, सुन्दरबजारका रामबाबु श्रेष्ठहरू नै किन नहुन् यी सतिसाललाई एमालेमा स्थान भएन । गफ लगाउनेहरूको रजगजले यस्ता व्यक्ति पाखा लागे ।

साविक बेंसीशहर नगरपालिका–६ का अध्यक्ष भोजबहादुर रिमाल नगरकमिटीको अध्यक्ष बन्न तयारी गर भन्दै अन्तिममा खिस्स पारिएपछि विज्ञप्ति नै जारी एमालेजस्तो सामन्ती पार्टीमा बस्नुको औचित्य नभएको भन्दै निस्किए ।

बेंसीशहर नगर कमिटीका अध्यक्ष थिए चितीका राजकुमार बिष्ट । गत तिहारमा जुवाखालबाट समातिएका उनी कमिटी छाड्न चाहन्थे । कात्तिक १० गतेको अधिवेशनमा विमति जनाउँदा जनाउँदै पनि उनलाई अध्यक्ष बनाउनुको भित्री रहस्य जिल्ला कमिटीमा छिर्नबाट रोक्नु रहेछ ।

जिल्ला अध्यक्ष धनञ्जय दवाडी गण्डकी प्रदेशको सचिवमा गएपछि सचिव कृष्ण अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । दाबी त उपाध्यक्ष तथा नगरप्रमुख गुमानसिंह अर्यालको पनि थियो । उनलाई प्रदेश कमिटीमा थन्क्याइयो । मेयरको टिकट नपाएको झोँकमा अधिकारीले अन्तर्घात गरेको हल्ला तिनताका थियो ।

अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उपसचिव सुभाष पौडेललाई सचिव पद जुरेको छ । स्थानीय निर्वाचन परिचालन कमिटीको संयोजक बनाइएका पौडेलमाथि गुमानसिंह अर्याललाई मत नदिएर कांग्रेसका भेषबहादुर पौडेललाई उकासेको आरोप थियो ।

यही पुस २३ गते हुने जिल्ला अधिवेशनले उनीहरूलाई अनुमोदित गर्ने भनिए पनि परिस्थिति सहज बन्ने देखिन्न । जस्केलाबाट छिराउन पाइँदैन । प्रतिस्पर्धा होस् भन्नेहरू देखिन थालेका छन् । राजेन्द्र बोहरा, शिव जोशी, प्रेम जिसी, लामो समय माधव नेपालको पक्षमा रहेकै कारण डामिएका हिरालाल विश्वकर्मा, दूधप्रसाद गुरुङहरू पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुनुपर्छ भन्नेमा छन् ।

यदि, प्रतिस्पर्धा नै भयो भने मनोनीत अध्यक्ष र सचिव दुवै चिप्लन सक्ने सानो सम्भावना छ । एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख तथा निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गृहजिल्लामा नेकपा समाजवादीको बीउ नै छैन भनेर प्रचार गरिए पनि जिल्लाका सबै वडादेखि नगरसम्मै संगठन विस्तार र कमिटी निर्माण गरिएको अध्यक्ष रामबाबु अधिकारीले जानकारी दिए ।

– अञ्जनकुमार

टिप्पणीहरू