तीन आर्थिक वर्षको बजेटबाट वडा कार्यालय निर्माण

तीन आर्थिक वर्षको बजेटबाट वडा कार्यालय निर्माण

पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ ले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । तीन आर्थिक वर्षको बजेटबाट भवन निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नीजि स्वामित्वको घरबाट सेवा प्रवाह गर्ने भएको हो ।

वडा कार्यालय भवनको उद्घाटन गर्दै याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वडा कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन भवन निर्माणलाई प्राथमिकता दिई निर्माण सम्पन्न गरिएको वताए । उनले संघीय संरचनालाई संस्थागत गर्न स्थानीय तहले संरचनागत विकासमा जोड दिने उल्लेख गरे ।

विगतमा धेरै विवाद र समस्याका कारण साविक फलैंचा गाविसमा गाविस कार्यालयको भवनसमेत नभएको अवस्थामा तीन आर्थिक वर्षको बजेटबाट भवन निर्माण सम्पन्न गरेको बताए । कार्यालय भवन नरहेका वडा नं. २ र ५ मा भवन निर्माण सम्पन्न भएको र गाउँपालिकाको प्रशासकीय भवनसमेत निर्माण भइरहेको उन्ल जानकारी दिए ।

याङवरक गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार विगतमा मुद्दा मामिला र क्षेत्रगत विवाद हुनाले तत्कालीन गाविसको कार्यालयसमेत बन्न सकेको थिएन । स्थानीय तहको निर्वाचनपछि स्थानीय जग्गादाताले निःशुल्क जग्गा उपलब्ध गराउनुका साथै थप जग्गाको प्रवन्धका लागि चन्दा तथा सहयोग संकलन गरी जग्गा खरिद गरिएको थियो ।

ब्यवस्थित वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाह गर्न पाउँदा सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरेको वडाध्यक्ष योङहाङको भनाई छ । २०७७ असार १६ गते शिलान्यास गरिएको उक्त भवन निर्धारित समय अगावै निर्माण सम्पन्न भएको हो ।

टिप्पणीहरू