महिलाहरु कहिलेसम्म असुरक्षित ?

महिलाहरु कहिलेसम्म असुरक्षित ?

राजधानीमा गएको मंगलबार एक महिला आफूमाथि सामूहिक बलात्कार भएको उजुरीसहित महानगरीय प्रहरी प्रभाग बसपार्क पुगिन् । मित्रनगरस्थित गेष्टहाउसमा नौ जनाको समूह मिलेर आफूमाथि जबरजस्ती करणी भएको मौखिक उजुरी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा पर्यो ।

महिलाको उजुरीपछि आरोपित सात जनालाई मंगलबार राति र दुई जनालाई बुधबार पक्राउ गरियो । प्रसुती गृहमा गरिएको शारीरिक परीक्षणपछि महिलालाई सामूहिक बलात्कार गरिएको पुष्टि भयो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीसहितको प्रहरी टोलीले ती नौ जनालाई नै पक्राउ गरेको हो ।

उदयपुरमा पनि केही दिनअघि एक महिलामाथि जबरजस्ती करणी भएको थियो । उनलाई घरभित्र कोही नभएको अवस्थामा करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।

गएको पुस ७ गते सप्तरीमा १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी भयो । बाख्रा चराउन गएकी किशोरीमाथि जबरजस्ती करणी भएको थियो । ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले समातेको हो ।

यसले हाम्रो समाजमा बलात्कारका घटनाहरु बढ्दो क्रममा रहेको देखिन्छ । रगतको नाता भएकासँगै पनि महिलाहरु डराएर बस्नुपर्ने बाध्यता छ । कतिपय अवस्थामा घर र छिमेककै पुरुषबाट समेत महिला असुरक्षित बनेका छन् । नेपाली समाजमा दैनिक जबरजस्ती करणीका घटनाहरु नियमित झैँ सुन्नमा आएका छन् ।

यसले घरबाट बाहिर निस्किन समेत महिलाहरुलाई डराउनुपर्ने अवस्था बनेको छ । आखिरी पुरुषभित्र त्यस्तो के तन्तु छ जसले उनीहरुलाई हिंस्रक तुल्याइदिएका छन् । नैतिक शिक्षाको अभावमा मानिसमा बढ्दै गएको जंगली स्वभावका कारण यौनजन्य हिंसाका घटनामा वृद्धि भएको हो ।

कमजोर राज्यले आफ्नो कानुनलाई प्रभावकारी रुपमा प्रयोग गर्न सकिरहेको छैन । आधुनिकतातर्फ विश्व बढिरहेको बेला नेपालीको चेतनामा केही परिवर्तन आउन सकेको छैन । बलात्कारको ग्राफ उकालो लागिरहँदा पनि सम्बन्धित निकायले उचित कदम चाल्न सकेको देखिँदैन ।

बलात्कारको उक्लिँदो पारो

महिलामाथि हुने घरेलु हिंसा, विभेद, अन्याय र यौन हिंसाका लागि विभिन्न महिला संगठनहरुले आवाज उठाउँदै आएका छन् । महिला हिंसाविरुद्ध विभिन्न अभियान सञ्चालन हुने गरेको छ । तर, त्यस्ता हिंसाविरुद्ध जति नै आवाज उठाइए पनि खासै औचित्यपूर्ण बनेको छैन । नेपालमा बर्सेनी बलात्कारका घटना बढ्दै गएको प्रहरी तथ्याङ्कले समेत देखाएको छ ।

चालु आर्थिक वर्षको मसिर महिनासम्म नौ सय ९३ वटा जबरजस्ती करणीका घटना भएका छन् । तीमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर १ मा देखिएको छ । उक्त प्रदेशमा चालु आर्थिक वर्षमा मात्रै एक सय ९७ महिला बलात्कृत भएका छन् । त्यस्तै, प्रदेश नम्बर २ मा एक सय ३२ वटा बलात्कारका घटना भएका छन् । बागमती प्रदेशमा एक सय १५ बलात्कारका केस फाइल भएका छन् भने गण्डकी प्रदेशमा एक सय वटा बलात्कारका घटना दर्ता भएका छन् ।

लुम्बिनी प्रदेशमा एक सय ६४ जना महिला बलात्कार भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् ६७ यस्ता घटना भएका छन् । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा ९१ वटा बलात्कारका घटनाहरु भएको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा तीन सय ३१ महिलामाथि जबरजस्ती करणीको प्रयास भएको छ । प्रदेश १ मा जबरजस्ती करणीको प्रयास सबैभन्दा धेरै भएको तथ्याङ्मा देखिन्छ । प्रदेश २ मा ५४, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा ५९ जबरजस्ती करणीका कोशिस भएको देखिएको हो । कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा ५२ वटा यस्ता घटना भएका छन् ।

उपत्यकामा पनि उक्त अवधिमा एक सय २७ बलात्कारका घटना दर्ता भएको छ । त्यसैगरी २२ जबरजस्ती करणीको कोशिस भएको प्रहरी तथ्याङ्कले देखाउँछ । यसरी अपराधिक क्रियाकलाप बढ्नुमा पारिवारिक तहबाट नै नैतिक शिक्षा दिन नसक्नुको परिणाम रहेको समाजशास्त्रीहरुको बुझाइ छ । अझ सामाजिक भयका कारण कतिपयले जबरजस्ती करणीका घटनालाई घरभित्रै गुपचुप राख्ने गरेको पाइन्छ ।

बलात्कारजस्तो जघण्य अपराधिक घटनालाई पारिवारिक समन्वयमा मिलापत्र गर्ने प्रयास गरेका समाचार पनि बाहिर आउने गरेको छ । जबसम्म घर, विद्यालय, समाज र विश्वविद्यालयलगायत सबैतिर सबैलाई नैतिक शिक्षाको पाठ पढाउन सकिँदैन, तबसम्म यस्ता घटना कम हुने होइन झन् बढ्ने छन् ।

टिप्पणीहरू