अघिल्लो वर्षभन्दा यो वर्ष नेपाली पत्रकार झन् धेरै पीडित

अघिल्लो वर्षभन्दा यो वर्ष नेपाली पत्रकार झन् धेरै पीडित

नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा सन् २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ ।सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निश्कर्ष निकाल्दै महासंघले तुलानात्मक रूपमा यो वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेको बताएको हो ।

महासंघको तथ्याङ्कअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए । सन् २०२१ जनवरी १ देखि आज बिहान ११ बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । तीन घटनामा १ सय ९० जना पत्रकार पीडित भएका छन् । त्यसबाट चारवटा सञ्चारमाध्यम प्रभावित भएका छन् ।

यो वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएको र पेशागत असुरक्षाका १० वटा घटना देखिएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणमा पाँच वटा घटना भएका छन् ।’

पत्रकार गिरफ्तारीका चारवटा घटना भएको यो वर्ष नीतिगत बन्देजको एउटा मात्र घटना रहेको अभिलेख महासंघले सार्वजनिक गरेको छ । साथै, यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेको महासंघको ठहर छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । सन् २०२१ मा मात्रै २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको हो ।

महामारीलाई देखाएर विभिन्न सञ्चारगृहबाट तीन सय ५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निश्कासन गर्ने काम समेत भएको छ ।

टिप्पणीहरू