कारबाहीको कैँची चलाइएकालाई खेल्न बोलाइयो

कारबाहीको कैँची चलाइएकालाई खेल्न बोलाइयो

नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेलका लागि प्रारम्भिक चरणमा ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दसानायके नेपाल आएको तेस्रो दिनमा नै क्यानले ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । जसमा क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी पनि छन् ।

त्यस्तै, राष्ट्रिय टिममा स्थान बनाउन संघर्ष गरिरहेका शरद भेषवाकर, भीम सार्की, प्रदिप ऐरी, राजेश पुलामी, नन्दन यादव, जितेन्द्र मुखिया, सौरभ खनाल, सागर ढकाल, किशोर महतो, हरिशंकर शाह, विवेक यादवलाई पनि प्रारम्भिक टोलीमा समेटिएको छ ।

क्यानले क्याम्पमा बोलाएका अन्य खेलाडीमा सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आशिफ शेख, सहाब आलम, सन्दिप जोरा, अविनाश बोहोरा, सुसन भारी, पवन सर्राफ, विक्रम शोब, रोहितकुमार पौडेल र गुल्सन झा छन् ।

क्यानले चार खेलाडीहरुले अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई सेन्ट्रल कन्ट्राक्टबाट ६ महिना बाहिर राख्ने निर्णय गर्दै कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्रलाई जिम्मेवारीमुक्त गरेको थियो । नयाँ कप्तानको जिम्मेवारी सन्दिप लामिछानेले पाएका छन् ।

क्यानले बन्द प्रशिक्षणमा बोलाए पनि कारवाही फिर्ता लिएको छैन । त्यसैले बन्द प्रशिक्षणमा उनीहरुको सहभागिता अनिश्चित बनेको हो ।

टिप्पणीहरू