बाढी पीडितलाई ‘हङकङ’ को धान सहयोग

बाढी पीडितलाई ‘हङकङ’ को धान सहयोग

गत कात्तिक महिनामा परेको अविरल वर्षासँगै मावा खोलामा आएको बाढीबाट पीडित बनेका मोरंगको उर्लाबारी–९ का कृषकलाई राहत प्रदान गरिएको छ ।

राजघाट हङकङ समाजको सहयोगमा उर्लाबारीस्थित चक्रेटोल, फाईबेलीडाँडा, बोर्डर लाईन र माहारास्थानमाका बाढी पीडितलाई राहत प्रदान गरिएको हो ।

बाढी पीडित प्रतिघरलाई पाँच मनको दरले धान सहयोग गरिएको राहतको लागि पहलकर्ता समिर तुम्बाहाम्फेले बताए । उनका अनुसार अति विपन्न तथा पीडित ४३ घर परिवारलाई सहयोग गरिएको छ । ‘यसपटक अन्नबाली पानी, झरी र बाढीले बगाएपछि खान नपाइने चिन्ता थियो,’ राहत लिँदै स्थानीय चक्र राईले भने, ‘पाँच मन धान पाइयो, अब भोकै नहुने भइयो । अरु त जेनतेन गरेर चलाइ हालिन्छ ।’

राहत पाउनेहरू प्रायः निक्कै खुशी देखिएका छन् । वास्तवमा कृषकको पीडामा कसैले पनि चासो देखाएको पाईंदैन । उनीहरू जहिले पनि सिजनमा मल नपाएर हैरान हुन्छन् । कहिले बीऊ विजनको अभाव झेल्छन् ।

कहिले बाली राम्रोसँग सप्रिँदैन त कहिले भएको बाली नी सबैले बाढीले बगाइदिन्छ, असिनाले पनि सखाप पारिदिन्छ । यहि पीडालाई मध्यनजर गर्दै आफ्नो गाउँको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गरेको राजघाट हङकङ समाजका अध्यक्ष खबिराज लिम्बुले बताए ।

उनले भने, ‘गाउँघरमा भएको यति ठूलो क्षति र पीडामा कहाँ हाम्रो मन मान्छ र । त्यसैले सकेको सहयोग गरेका हौं । भइपरी आउने समस्यामा सहयोग गर्न हामी तैयार छौं ।’ राहतका लागि सहयोग संकलनमा सक्रिय राकेश पोमुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

टिप्पणीहरू