अझै भरिएन बागमतीको योजना आयोग

अझै भरिएन बागमतीको योजना आयोग

बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्तलाई नियुक्त गरिएको छ । पन्तको नियुक्तिसँगै अढाई वर्षदेखि रिक्त उपाध्यक्षको पदपूर्ति भएको हो ।

तत्कालीन उपाध्यक्ष डा. खिमलाल देवकोटाले तत्कालीन मुख्यमन्त्री डोरमाणि पौडेलको कार्यशैलीप्रति चित्त नबुझाउँदै २०७६ असार अन्तिममा उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

डा.पन्तलाई उपाध्यक्ष बनाएसँगै सदस्यहरुमा संविधानसभा सदस्य प्रल्हाद लामिछाने (मकवानपुर) र राजु नेपाल (भक्तपुर) पनि मनोनीत हुनुभएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग उपाध्यक्षसहित तीन पदाधिकारी चयन गरेको हो । आज उपाध्यक्ष पन्तका साथै सदस्य लामिछाने र नेपाललाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथग्रहण गराउनुभएको छ ।

उपाध्यक्ष पन्तले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट आर्थिक विकेन्द्रीकरण, सार्वजनिक सेवा प्रवाह र गरिवी शीर्षकमा विद्यावारिधी हासिल गर्नु भएको छ । उहाँलाई योजना तथा नीति आयोगको उद्देश्यबमोजिम सरकारी हस्तक्षेप बिना नै चल्न दिने गरी मुख्यमन्त्री पाण्डेले विज्ञको रुपमा उभ्याउनु भएको बुझिएको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले योजना बैंक निर्माण गरी योजना तर्जुमा गर्ने भनेर प्रदेशभरिका स्थानीय तहमार्फत योजना संकलन गर्नुभएको थियो ।

तर, योजना बैकलाई बेवास्ता गरी आफू अनुकूल बजेट तर्जुमा हुन थालेपछि देवकोटाले राजीनामा दिनुभएको हो । राजीनामा दिएपछि सदस्य श्याम बस्नेतले निमित्त उपाध्यक्षको रुपमा केही समय काम गर्नुभएको थियो ।

प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष एक र सदस्य चार गरी पाँच सदस्यको व्यवस्था छ । समावशितालाई समेत ख्याल गर्दै अन्य दुई जना सदस्य पछि मनोनीत गर्ने स्रोतले बताएको छ ।

टिप्पणीहरू