किसानको आर्थिक गर्जोमा सुन्तला खेतीको टेको

किसानको आर्थिक गर्जोमा सुन्तला खेतीको टेको

तेह्रथुममा यो वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएको छ । नयाँ बगैँचा बिस्तार र सेपिलो ओसिलो क्षेत्रमा रहेका बगानमा धेरै सुन्तला फलेका कारण उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र, धनकुटाले जनाएको छ ।

केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेह्रथुममा वार्षिक तीन हजार आठ सयभन्दा बढी मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष १३ मेट्रिक टन उत्पादन बढ्ने ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लाको ६ वटै स्थानीय तहमा सुन्तला उत्पादन हुँदै आएको र जसमध्ये आठराई गाउँपालिकामा सबैभन्दा बढी उत्पादन हुने बताइएको छ । केन्द्रका प्राविधिक सहायता विशाल राईका अनुसार छथर गाउँपालिकामा भने उत्पादन कमी हुने अनुमान छ । पुराना बगानहरू व्यवस्थापनमा कमी, रोग किराका संक्रमणका साथै सिँंचार्इं अभावका कारण सुख्खाग्रस्त क्षेत्रमा उत्पादन कमी हुने भएको हो ।

जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीभन्दा पनि नगदेबालीतर्फ किसानहरू आकर्षित हुँदै आएका छन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएका कारण पनि किसानहरू नगदेबालीतर्फ आकर्षित भएका हुन् ।

किसानहरूलाई सुन्तला खेतीमा व्यावसायिकता बनाउन ज्ञान केन्द्रले सुन्तला खेती बगैँचा सुधार कार्यक्रमका साथै विभिन्न तालिम गोष्ठी सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ । गाउँमा सडक सञ्जाल जोडिएसँगै सुन्तला किसानलाई सहज भएको छ ।

तेह्रथुममा उत्पादन भएको सुन्तला तराईका विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ । सामान्यतयाः ७० रुपैयाँदेखि एक सय रुपैयाँमा सुन्तला प्रतिकिलो बिक्री हुँदै आएको र सुन्तला खेतीले यहाँका किसानको जीवनस्तरसमेत उकासेको बताइन्छ ।

एकाध हजार रुपैयाँ सापटीको निम्ति साहुकोमा पुग्दै आएका किसानको समस्या अहिले सुन्तला खेतीले टरेको छ । तेह्रथुमका किसानले आफ्नो जग्गाअनुसार एक रोपनीदेखि २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । ज्ञान केन्द्रको तथ्याङ्कअनुसार तेह्रथुममा मात्रै ६ सय १६ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएको छ ।

टिप्पणीहरू