ओलीले अब केसम्म गर्न सक्नुहोला ?

ओलीले अब केसम्म गर्न सक्नुहोला ?

आजसम्मको राजनीतिक परिदृश्य नियाल्दा केपी ओलीका निम्ति पाँचदलीय गठबन्धन हरेक कदममा बाधक बनेको छ । त्यसैले कताबाट प्रहार गर्दा गठबन्धन टुट्ला भनी हेर्नु उहाँका निम्ति स्वाभाविक विपक्षी धर्म हो । तर, त्यो पाटो सफल भएन भने जनतामा के लिएर वा भनेर जाने ?

उहाँलाई लागेको थियो– राप्रपा महाधिवेशनबाट आफ्ना हितैषी कमल थापा फेरि अध्यक्ष भइहाल्छन् । त्यसपछि कमल थापाको हिन्दूवादी एजेण्डा बोक्ने योजना थियो । तर, त्यो एजेण्डा लिङ्देनले बोक्ने भए । एकजना एमाले नेता भन्छन्, ‘केपीले वामपन्थ र लोकतान्त्रिक चरित्र त छाडिहाल्नुभयो, अब अपनाउने बाटो भनेको त्यस्तै कुनै दक्षिणपन्थी खालकै होला ।’

एमालेले अभ्यास गर्दै आएको लोकतान्त्रिक परिपाटीमा यसचोटि कांग्रेस महाधिवेशनले वाहवाही कमाएको छ । त्यसैले ओलीसँग बाँकी रहेको दोस्रो विकल्प हो, भारतविरोधी भावनामा खेलेर अगाडि बढ्ने । यसका निम्ति भारतीय एजेन्सीसँग नियमित संवाद जारी राख्नुभएको छ ।

एमसिसीका कारण गठबन्धन नतोडिने सम्भावना प्रबल छ । किनभने, तोडियो भने त्यसले सबभन्दा बढी घाटा कांग्रेसलाई हुन्छ । एमाले र कांग्रेसबीच चुनावी तालमेल वा गठबन्धन हुने कुरा भएन । फुटिसकेको गठबन्धनका दलहरुले पनि विकल्प खोज्नुपर्ने अवस्था आउँछ । त्यस्तो अवस्थामा कतिबेला कताको चौकी हान्ने भनी अनुमानै गर्न नसकिने पात्र ओलीले फेरि वामपन्थी गठबन्धन गरिदिँदा कांग्रेसलाई फेरि अर्को समस्या !

ओलीका अप्ठेरा

२३ गते हुन लागेको एमाले जिल्ला अधिवेशनहरु ओलीका निम्ति एकदमै अप्ठेरोको विषय बन्दै गएको छ । ओली पक्षधरहरुमै शुरु भएको बेमेल, महाधिवेशनमा आपनाइएको एकाधिकारवादी शैली र कांग्रेस, राप्रपाले गरेका पूर्ण लोकतान्त्रिक अभ्यासका कारण जिल्ला अधिवेशनका प्रक्रियाहरु जटिल बन्ने भएका हुन् ।

एमाले पंक्तिमा लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन नहुने खतराप्रति सचेत हुँदै जिल्ला अधिवेशनहरुमा हस्तक्षेप गर्ने तयारी छ । ‘महाधिवेशनमा पो केपी ओली आफैँ उभिँदा अरुलाई प्रतिवाद गर्न अप्ठेरो भयो, ७७ जिल्लामा कसले, कसलाई मान्ने ?’, एक एमाले नेता बताउँछन् । कतिपय जिल्लामा अधिवेशनअगावै असन्तुष्टि देखिन थालेका छन् ।

यता केन्द्रमा तोकिएको मर्यादाक्रममा टोपबहादुर रायमाझीभन्दा विष्णु रिमालको नाम माथि छ । पूर्वमाओवादी पंक्ति ओलीसँग सन्तुष्ट छैन, तर असन्तुष्टि पोखेर जाने ठाउँ पनि छैन ।

केन्द्रले झापाको इञ्चार्जमा अग्नि खरेललाई तोकेपछि त्यहाँका पार्टी नेताहरु जिल परेका छन् । अग्नि कहिल्यै जिल्ला केन्द्रित भएर काम गरेका नेता हैनन् । केन्द्रमा कानुन विभागको प्रमुखमा रमेश बडाललाई लैजानका लागि अग्निलाई जिल्लातिर पन्छाइयो भनिन्छ ।

तर, एमाले नेताहरुको आरोप छ– अग्निले झापाका कतिपय कार्यकर्ता नै चिन्दैनन् । कानुन विभागको प्रमुख बनाइएका रमेश जिफन्टबाट प्रतिनिधि बनेका र त्यही कोटाका केन्द्रीय सदस्य हुन् । अर्कातिर, व्यापारी मोतिलाल दुगडलाई उद्योग विभागको प्रमुख र दुर्गा प्रसाईं (मार्सी) लाई उपप्रमुख तोकिएपछि पार्टीभित्र अर्को असन्तुष्टि देखिन्छ ।

टिप्पणीहरू