नेतृत्व चयन : माओवादी,एमाले,काङ्ग्रेस,राप्रपा -कसको ठीक ?

नेतृत्व चयन : माओवादी,एमाले,काङ्ग्रेस,राप्रपा -कसको ठीक ?

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा शुरु भएको छ । ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि आठौँ महाधिवेशन’ नाम दिइएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।

तीन दशकभन्दा बढी पार्टी नेतृत्वमामा अविछिन्न रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः दोहोरिने लगभग निश्चित छ । बहुपदीय संरचनामा जाने निर्णय गरिसकेको माओवादीले अन्य पदहरुमा भने कुन विधिबाट नेता चयन गर्छ भन्ने अहिलेसम्म अन्योल नै छ ।

हुन त, माओवादीको अन्तरिम विधानमा प्रतिनिधिले कमिटी चयन गर्ने र निर्वाचित कमिटीले अध्यक्ष र पदाधिकारी छान्ने व्यवस्था छ । विधानमा सर्वसम्मत हुन नसके निर्वाचन गर्ने पनि भनिएको छ । त्यसका लागि माओवादीले सबै तहमा निर्वाचन समिति गठन गरेको छ ।

माओवादीले उसको राजनीतिक जीवनमा पहिलो पटक निर्वाचनमार्फत नेता चयन गर्ने अभ्यास शुरु गरिसकेको छ । बागमती प्रदेश र प्रदेश १ मा यस्तो अभ्यास गरिएको हो । तर, महाधिवेशनको पूर्वसन्ध्यामा माओवादी नेताहरु निर्वाचनबाट नेतृत्व छान्ने अहिलेको प्रचलित विधि उपयुक्त नहुने आशयका अभिव्यक्ति दिइरहेका छन् ।

कम्युनिष्ट पार्टीमा विचार प्रधान हुने र उक्त विचारलाई नेतृत्व गर्नसक्ने व्यक्ति नै नेता बन्ने कुरालाई महत्व दिइन्छ । यसअघि एमालेलगायतका दलहरुले पनि ‘जसको विचार उसैको नेतृत्व’ को नारा दिएका थिए । माओवादी नेताहरु समेत विचारबाट अलग्याएर नेतृत्वको छुट्टै बहस गर्नु गलत हुने बताइरहेका छन् । काँग्रेस,एमालेलगायतका दलले नेतृत्व चयनमा अपनाएको निर्वाचनको विधिलाई माओवादीले बुर्जुवा भनेको छ ।

निर्वाचनमार्फत् नेतृत्व छान्दा पार्टीमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने र नेतृत्वबारे गलत धारणा विकास हुने माओवादी केन्द्रका नेता देव गुरुङको दाबी छ । नेपाली कम्युनिष्ट आन्दोलनमै प्रचण्डको नेतृत्व सर्वस्वीकार्य भइसकेको भन्दै उहाँले यसलाई विचार निर्माणको प्रक्रियासँग जोडेर हेर्नुपर्ने पनि बताउनुभयो ।

माओवादीले १० वर्षे जनयुद्धका क्रममा प्रचण्डपथ भनेर नेतृत्व केन्द्रिकरण गरेको थियो । शान्ति प्रक्रियामा आइसकेपछि कहिले एकल त कहिले सामूहिक नेतृत्वको अभ्यास गरेको माओवादीमा एकरुपता छैन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनको मोडलबारे आमबहसको आवश्यकता रहेकोमा जोड दिने गर्नुभएको छ । प्रचण्डले औपचारिक नेतृत्व र विचारको नेतृत्वबारे माओवादीमा अहिले बहस भइरहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरुले सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका रुपमा नेतृत्वको परिभाषित गरेका हुन्छन् । नेता चयनको विधि जनवादी केन्द्रीयता भनिएको छ । तर, एमालेलगायतका केही कम्युनिष्ट पार्टीहरुले निर्वाचनबाट बढी मत ल्याउने नेता नै नेतृत्वमा पुग्ने विधिलाई नै जनवादी केन्द्रीयता मानेको छ ।

तर,प्रचण्डले भने नेतृत्वसँग आन्दोलन,विचार र जनमतसमेत जोडिने भएकाले अन्य पार्टीहरुले अपनाएको नेतृत्व चयनको विधिलाई जनवादी केन्द्रीयता भन्न नमिल्ने दाबी गर्नुभएको छ । मूल्याङ्कन र कार्यकर्ताको मत दुबैका आधारमा नेतृत्व निर्माण हुने विधिले जनवादी केन्द्रीयताको मर्म आत्मसात गर्ने प्रचण्डको भनाइ छ ।

‘नेतृत्व भनेको दुई वटा हुन्छ । एउटा औपचारिक,अर्को चाहिँ आन्दोलनबाट स्थापित हुने नेतृत्व हो’, प्रचण्डले भन्नुभयो, ‘भारतमा महात्मा गान्धी पार्टीको अध्यक्ष कहिल्यै पनि भएनन् तर उनकै नेतृत्वमा स्वतन्त्रता संग्राम चल्यो । चीनमा पनि देङ स्याओपिङ पार्टीको नेता बनेनन् तर, क्रान्तिमा उनको योगदान महत्वपूर्ण थियो ।’

नवौँ महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरेको एमाले पनि दशौँ महाधिवेशनसम्म आइपुग्दा नेतृत्व चयनमा अहिले विद्यमान विधि परिवर्तनको पक्षमा उभिएको थियो । भलै विविध कारणले त्यो सफल भने हुन सकेन ।

भीम रावल, घनश्याम भुसाललगायतका केही नेताहरुका कारण त्यस्तो प्रयास असफल भए पनि एमालेको मूल हिस्सा भने माओवादी नेताहरुले भनेजस्तै विधिबाट नेतृत्व चयनका पक्षमा थिए ।

टिप्पणीहरू