राष्ट्रपतिकी सम्धिनी पनि पराजित

राष्ट्रपतिकी सम्धिनी पनि पराजित

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा धेरै जना पुराना र चर्चित महिला अनुहार पराजित भएका छन् । त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव पनि हुन् । मधेशी महिलातर्फको केन्द्रीय सदस्यमा उठेकी प्रतिनिधि सभाकी सांसद किरण यादव २७ सय २२ मत पाए पनि पराजित भएकी हुन् ।

केन्द्रीय सदस्यमा उठेकी काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पनि पराजय भोगेकी छन् । जम्मा ८ सय ३८ मत पाएकी खड्गी केन्द्रीय सदस्य बन्न सकिनन् । उनले आदिवासी जनजाति महिलाको खुलातर्फ उम्मेदवारी हालेकी थिइन् ।

प्रतिनिधि सभाकी सांसद हिरा गुरुङ र पूर्वसांसद उषा गुरुङ पनि पराजित भएका छन् । अर्की सांसद प्रमिला राईले पनि पराजय व्यहोर्न परेको छ । बाग्मती प्रदेश काँग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले पनि हार्नेहरुको सूचीमा परेकी छन् ।

सांसद पार्वती डिसी चौधरी र राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले पराजय व्यहोर्न परेको छ ।

उता नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियासँगै कल्याणी रिजाल पनि पराजित भएका छन् । पद्मकन्या क्याम्पस स्ववियुकी पूर्वसभापति विनिता अधिकारीलाई पनि हराइएको छ ।

टिप्पणीहरू