केपीलाई किन मीठा लाग्छन् मोदीका कुरा ?

केपीलाई किन मीठा लाग्छन् मोदीका कुरा ?

विकिलिक्सको रिपोर्ट भनेको अमेरिकाका विभिन्न एजेन्सीले आफू कार्यरत ठाउँबाट वासिङ्गटन प्रशासन र सिआइएलाई पठाउने नियमित सूचना हो । प्रश्न उठ्छ– ती सूचनामा कति विश्वसनीयता छ ? कोही व्यक्तिलाई लागेको कुरा निजले व्यक्त गर्दैमा प्रमाण ठहरिन्छ ?

केपी ओलीले आफ्नो प्रधानमन्त्री पद सुरक्षित गर्नकै निम्ति पार्टीका अरु नेतासँग सरसल्लाह नगरी ०७४ मा माओवादीसँग एकता गर्नुभयो । एकता हुँदा ईश्वर पोखरेलको महासचिव पद हरायो, विष्णु पौडेल महासचिव हुनुभयो । यसरी वाम गठबन्धनले दिएको निर्वाचन परिणामका आधारमा प्रधानमन्त्री भइसकेपछि केन्द्रीय कमिटीको बैठक दुई वर्ष बसेन । आफ्नो नेतृत्वमा सरकार बनिहाल्यो, राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिनुभयो ।

यति भएपछि सबैथोक पुग्यो भनेर ढुक्क हुनुभयो । प्रचण्डसँग प्रधानमन्त्री पदमा आधा–आधा कार्यकालका लागि भएको पूर्वसहमति उल्लंघन गर्नुभयो । पहिला भएकै छैन भनेर जिद्धी कस्नुभयो । पछि लिखत सार्वजनिक भयो । ‘त्यसको कुनै अर्थ छैन’ भन्दै फेरि अटेर गर्नुभयो । बैठकमा कुरा उठ्यो, ‘बरु प्रधानमन्त्रीको कुर्सी नै भाँचिदिन्छु, मचाहिँ छाड्दिनँ’ भन्नुभयो । एवं प्रकारले पाँच वर्षका लागि हुन्छु भनेको प्रधानमन्त्रीबाट साढे तीन वर्षमै बाहिरिनुप¥यो ।

अहिले सरकार बाहिर बस्नुपर्दाको पीडा भुल्न तथ्य, प्रमाण र हैसियतसमेत भुल्ने अवस्थामा केपी पुग्नुभएको छ । झूठलाई एकदम सत्य हो भनेर पेश गर्ने क्षमता त छ । तर, उहाँका कुनै पनि झूठ टिकेनन् । महाधिवेशनपछि ओलीमा चुनावी माहोल बनाउने विषयले निक्कै ठूलो घर गरेको छ । त्यसका निम्ति दुर्गा प्रसाईं (मार्सी) देखि कोमल वलीसम्मलाई पार्टीमा भित्र्याउन सक्रिय हुनुभएको छ ।

नेपाली जनमानसमा रहेको भारतविरोधी सेन्टिमेन्टलाई फेरि भजाएर चुनावमा जान चाहनुहुन्छ । महाधिवेशनमा भाजपाका नेताहरु आएर बोलेबाट पनि दिउँसो मोदीको सत्तोसराप, मध्यरात सामन्त गोयलसँग घनिभूत संवादका अन्तर्य प्रष्टै खुल्छ । केपीलाई अझै भारतको आशीर्वाद छ भन्ने केही एमाले नेताले सोचेका छन् ।

केपीले सरकार छाड्नुभन्दा पार्टी नै फोड्छु भन्ने सोचाई राख्नुभएको ०७७ सालको शुरुवातदेखि नै हो । जब पार्टीमा आफू अल्पमतमा परेँ भन्ने ठान्नुभयो, तब एमाले दर्ता गर्न केही व्यक्तिलाई पठाउनुभयो । कम्युनिष्ट आन्दोलन छिन्नभिन्न होला भन्ठानेर चीनले पटक पटक पार्टी नफुटाउन भन्यो । उहाँले मान्नुभएन । किनभने, भारतले पार्टी फुटाएर भए पनि आफ्नो प्रधानमन्त्री पद सुरक्षित राख्नुस् भनिसकेको थियो । यसर्थ भारतको ठूलो सफलता भनेको कम्युनिष्ट पार्टी फुटाउनु हो ।

महेश बस्नेतहरुले नै भन्ने गरेका छन्– केपी आफूलाई नरेन्द्र मोदी नै हुँ भन्ने ठान्नुहुन्छ । जब–जब मोदीका भाषण र कार्यक्रम आउँछन्, अरु काम छोडेर त्यतातिर ध्यान दिनुहुन्छ । गोकुल बाँस्कोटाले भनेका छन्, ‘म भेट्न जाँदा नरेन्द्र मोदीको भाषण आयो, एकछिन हेरेर आउँछु है भनेर माथि उक्लिनुभयो ।’ तर, कार्यशैलीमा केपी मोदी हुन सक्नुभएन । मोदीले धेरै बद्नाम हुने गरी काम गरेनन् । ओलीले पनि मोदीको शैलीमा बोल्ने काम त गर्नुभयो, तर बोलेका कुराहरु केही पनि पूरा भएनन् ।

मोदीले शुरुमै अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन समय खर्चिनुभयो । प्रधानमन्त्री बनेको पहिलो वर्ष विदेश घुमेर सम्बन्ध सुधारका काममा लाग्नुभयो । नत्र, उहाँ कुनै दिन अमेरिकाको भिसा नपाएको व्यक्ति हुुनुहुन्थ्यो । अहिले कुनै विश्व सम्मेलन भयो कि, अमेरिकी राष्ट्रपतिद्वारा खोजिने पहिलो वा दोस्रो व्यक्ति नरेन्द्र मोदी हुनुभएको छ ।

तर, आफ्नै पार्टी सहयोद्धाको समेत विदेशीसँग कुरा काट्ने उहाँलाई कुनै पनि विदेशीले बिछट्टै मन पराएका छैनन् । चीनसँग भएको सम्बन्ध आफैँले बिगार्नुभयो । अमेरिकाले खासै महत्व दिएको छैन । खेलाउन सक्दा र खेलाएर आफ्नो पक्षमा परिणाम निस्किने हुँदासम्म हो, भारतले उहाँलाई नजिक राखेको । तोरीबाट तेल आउञ्जेल पेल्ने हो, सकिएपछि पिना बन्छ । त्यसपछि घाममा सुकाएर गाईवस्तुलाई खुवाइने हो भनिन्छ !

टिप्पणीहरू