‘बा’ भन्नेले ‘बा’ समानकालाई कुटेपछि संसदमा कुरो उठ्यो

‘बा’ भन्नेले ‘बा’ समानकालाई कुटेपछि संसदमा कुरो उठ्यो

विद्यार्थीको कुटाइबाट काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा हिजो एक जना शिक्षक घाइते भएका छन् । परीक्षामा चिट चोर्न नदिएको भन्दै सोही क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराको आक्रमणबाट परीक्षामा सुपरीवेक्षक बसेका शिक्षक प्रकाश पुडासैनीको टाउकोमा सात टाँका लगाउनुपरेको छ ।

ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बीएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा चलिरहेको बेलामा जबरजस्ती परीक्षा हलमा छिरेका जेठाराले बा समानका गुरुमाथि पानी पिउन राखिएको स्टिलको जग टाउकोमा बजारेपछि उक्त घटना भएको हो ।

परीक्षा भइरहेको समयमा कक्षाकोठामा परीक्षासँग असम्बन्धित विद्यार्थी छिर्दा उनलाई शिक्षक पुडासैनीले बाहिर जान आग्रह गरेका थिए । त्यहि निहुँमा विवाद भएपछि विद्यार्थी कुटपिटमा उत्रिएको क्याम्पस प्रशासनले बताएको छ । शिक्षकमाथि आक्रमण गरेका विद्यार्थीलाई केही समय नियन्त्रणमा लिइएको तर शौचालय जाने बाहनामा उनी शौचालयको झ्याल फुटाएर भागेको क्याम्पस प्रशासनको भनाइ छ ।

परिक्षा हलभित्र कुटपिटमा उत्रिएका विद्यार्थी नेकपा एमालेको भातृ संघठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आवद्ध रहेको खुलेको छ । क्याम्पस स्ववियुमा लामो समयदेखि अनेरास्ववियुकै पकड रहँदै आएको छ । यसअघि माधवकुमार नेपाल समूह निकट अखिलका एक जना विद्यार्थीलाई जेठारा निकटका अर्का विद्यार्थीले कुटपिट गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

शिक्षकलाई कुटपिट गरेको घटना राजनीतिको आडमा मिलाउने प्रयत्न गरिएको बुझिएपछि शिक्षकहरुले भने कुटपिटमा संलग्न विद्यार्थीलाई उचित कारबाही नहुँदासम्म अध्यापन नगर्ने घोषणा गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनका ‘डाइहार्ट’ फ्यानहरुले बा भनेर सम्बोधन गर्छन् । बा समानका गुरुमाथि हिजो भएको हातपातको चौतर्फी भत्र्सना भएको छ । आज प्रतिनिधिसभाको बैठकमा समेत शिक्षक कुटिएको विषयले महत्व पाएको थियो । शिक्षक कुट्ने विद्यार्थीको विषयमा शिक्षामन्त्री र गृहमन्त्रीले बोल्नुपर्ने भन्दै सांसद प्रेम सुवालले प्रतिनिधिसभाको बैठकमा विषय प्रवेश गराउनुभएको हो ।

टिप्पणीहरू