सार्क ल नेपालले पनि प्रधानन्याधीशसँग टाढा रहेको जनाउ दियो

सार्क ल नेपालले पनि प्रधानन्याधीशसँग टाढा रहेको जनाउ दियो

प्रधानन्याधीश चोलेन्द्रसमशेर रणामाथि जनताको विश्वास टुटिसकेको बताउँदै सार्क ल नेपालले उहाँको राजीनामा मागेको छ । सार्क ल नेपालले प्रधानन्याधीश राणा न्यायालयको नेतृत्वको निम्ति असफल भइसकेको दाबी गर्दै तत्काल राजीनामा माग गरेको हो ।

सार्क ल नेपालले आज एक विज्ञप्ति जारी गर्दै, न्यायिक समुदाय र सर्वसाधारणको विश्वास टुटिसकेकाले तत्काल राजीनामाको विकल्प नरहेको सम्बन्धमा प्रष्ट पारेको छ ।

प्रधानन्यायाधीशमा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण एवम् कार्यक्षमतासमेत नदेखिएकाले राजीनामा मागिएको भनिएको छ ।

न्यायिक नेतृत्वका लागि आवश्यक न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण एवम् व्यवहारको अभाव रहेकाले तत्काल वहिर्गमन हुनपर्ने देखिएकाले राजीनामा दिनु स्वच्छ र निश्पक्षताका लागि समेत उचित देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सार्क ल न्यायाधीश, वकिल, शिक्षाविद्, कानुन विषयका शिक्षक, सार्वजनिक अधिकारी र अन्य कानुनसँग सम्बन्धित व्यक्तिहरू सम्मिलित सार्क देशका कानुनी समुदायको साझा संगठन हो ।

तर यसबीचमा प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन क्रमशः शिथिल हुँदै गएको छ । न्यायाधीशहरु इजलासमा बस्न थालेका र कानुन व्यवसायीहरुले बहस शुरु गरेपछि सर्वोच्चको प्रांगणमा पछिल्लो केही सातादेखि आन्दोलनकारीहरुको संख्या न्यून देखिँदै गएको हो ।

टिप्पणीहरू