शपथग्रहण समारोहमा रोक लगाइएकोमा पत्रकारहरु असन्तुष्ट

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले मन्त्री तथा राज्यमन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा पत्रकारहरुलाई प्रवेश रोक लगाइएको भन्दै असन्तुष्टि जनाएको छ । सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयले पत्रकारमाथि पटक–पटक रोक लगाएको भन्दै महासंघ असन्तुष्ट भएको हो ।

महासंघले पछिल्लो पटक मंसिर २८ गते साँझ प्रदेश प्रमुखको कार्यालय, हेटौंडामा भएको सपथग्रहण कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारमाथि रोक लगाइएको भन्दै आपत्ति जनाएको छ । स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने पत्रकारहरुको अधिकारमाथि रोक लगाएर सिंगो सञ्चारक्षेत्रमाथि निरंकुशता लाद्न खोजिएको महासंघको ठहर छ ।

यसअघि पनि निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण निर्माणको लागि प्रदेश प्रमुखको कार्यालयलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता गरिएको महासंघको भनाइ छ । यसबारे महासंघले प्रदेश प्रमुखको कार्यालयको स्पष्ट धारणा माग गरेको छ ।

महासंघले आगामी दिनमा यस्ता कमजोरी सच्याई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरण निर्माण नगरिए प्रदेश प्रमुखको कार्यालयको सबै खालका सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

टिप्पणीहरू