सिमेन्ट उद्योगलाई चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक

सिमेन्ट उद्योगलाई चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक

दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाएको छ ।

गाउँपालिकाको सर्वपक्षीय बैठकबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाउने निर्णय गरेको हो ।

सिमेन्ट उद्योगले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्बार वेवास्ता गरेको, खानी प्रभावित क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालयसमक्ष विभिन्न मिति र समयमा गरेका निर्णय कार्यान्वयन् नगरेको भन्दै चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाइएको बताइएको छ ।

उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्यान्वयन गरेर वातावरण प्रदूषण न्यूनीकरण नगरेसम्म उत्खनन् र ढुवानी कार्य स्थगन गरिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभएको छ ।

नागरिकस्तरबाट पटक पटक सिमेन्ट उद्योगहरुबाट उत्पन्न समस्या समाधानका लागि आवाज उठे पनि विभिन्न चरणमा हुने बैठकको निर्णय र सहमतिअनुसार उद्योगको निम्ति उत्खनन् कार्य जारी राख्न दिने गरेको गाउँपालिकाले स्वीकारेको छ । तर उद्योगले गरेको सम्झौता कार्यान्वयन नगर्दा उत्खनन् कार्य स्थगन गर्नु परेको गाउँपालिका अध्यक्ष वलीले बताउनुभयो ।

टिप्पणीहरू