क्रान्तिकारी पार्टी निर्माणका आन्तरिक समस्याहरू « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

क्रान्तिकारी पार्टी निर्माणका आन्तरिक समस्याहरू

प्रकाशित मिति :  २ पुष २०७८, शुक्रबार १५:००


-भरत सिग्देल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोल टोलमा भेला गरेर कमिटीहरू निर्माण गर्दै वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलनहरू सम्पन्न गरी राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । यी सम्मेलनहरूमा नयाँ क्रान्तिकारी विचारको विकास र नयाँ क्रान्तिकारी पार्टी निर्माणको विषयमा छलफल भइरहेका छन् ।

मंसिर २५ गते बागमती प्रदेश सम्मेलनको हलमा उपस्थित भई नौवटा प्रदेश सम्मेलनहरूको एकैपटक भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष कमरेड प्रचण्डले पार्टीभित्र गुटबन्दी, अराजकता, पदलोलुपताजस्ता प्रवृत्ति रहनुको चुरो कारण वैचारिक स्पष्टताको अभाव भएकोले आगामी पुसमा सम्पन्न हुने राष्ट्रिय सम्मेलनसम्ममा पार्टी नयाँ विचारकासाथ परिष्कृत हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, सोही अवसरमा पार्टीका वरिष्ठ नेता कमरेड नारायणकाजी श्रेष्ठले विचारमा अझै विकसित गर्ने, गुटवादलाई अन्त्य गर्ने भ्रष्टीकरणलाई रोक्ने र श्रमजीवी वर्गसँगको सम्बन्धबारे मिहिन तरिकाले समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीभित्रका समस्या र कमजोरीलाई समाधान गरी यथास्थितिवादसँग सम्बन्धविच्छेद गर्दै पार्टीको क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गरेरमात्र समाजवादी क्रान्तिको नेतृत्व गर्न सकिने बताउनुभयो ।

उता पार्टी प्रवक्ता कमरेड कृष्णबहादुर महराले विभिन्न चिरामा विभक्त जनयुद्धका सहयात्रीहरूको एकतामा जोड दिँदै आउनुभएको छ भने संगठन विभाग प्रमुख कमरेड जनार्दन शर्मा प्रचण्डपथको परित्यागलाई पार्टीको संगठनात्मक क्षयीकरणको मूल कारक ठान्नुहुन्छ ।

देशभरका कार्यकर्ताहरूसँग परामर्श नगरिकनै अप्रत्याशितरूपमा नेतृत्व तहबाट एमालेसँग गरिएको पार्टी एकताले क्षतविक्षत पारेको संगठनात्मक संरचनालाई फुटपछिको विषम परिस्थितिमा ब्युँताएर नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने विषय कम चुनौतीपूर्ण छैन । मरे सहिद, बाँचे मुक्ति भन्ने बलिदानीपूर्ण स्पिरिटबाट आएका नेताकार्यकर्ताको पंक्ति तितरबितर भइसकेको छ ।

एकातिर सहिद तथा बेपत्ता योद्धाका आफन्तजनहरूका आँसुका धारा रोकिएका छैनन् भने अर्कोतिर युद्धका घाइते योद्धाहरूको चहराइरहेको घाउमा मल्हम लगाउनेतर्फ पर्याप्त ध्यान पुगेको देखिन्न । त्यस्तै, द्वन्द्वकालीन मुद्दाको त्रासले अझै ठूलो संख्याका नेता कार्यकर्ताहरूलाई तर्साइरहेको छ । हिजो बम र बारुदसँग खेलेका हजारौं हातहरू आज हातमुख जोर्ने समस्यासँग जुध्न नसकेर विदेश भासिएका छन् ।

कतिपय क्रान्तिका आदर्श नायकहरू खलनायकमा बदलिएका छन् भने हिजोका हत्यारा, सीआइडी र सुराकीहरू आज माओवाद र प्रचण्डपथ जिन्दावादको राग अलाप्न आइपुगेका छन् । हिजोका होलटाइमरहरूको ठूलो पंक्ति कुनै खास पेशा, व्यावसाय, जिम्मेवारी र अवसरको अभावमा बेरोजगारजस्तै बनेका छन् भने नेतृत्वको नजरमा परेकाहरूको सान, मान र ठाँटबाँटले सहिदका सपनाहरूको उपहास गरिरहेको छ ।

यस्तो अवस्थामा कमरेड प्रचण्डले प्रदेश सम्मेलनहरूको उद्घाटन मन्तव्य प्रस्तुत गर्ने क्रममा उद्घोष गरेझैँ भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजिवादसँग लडेर विजय हासिल गर्नसक्ने क्रान्तिकारी विचारमा आधारित क्रान्तिकारी पार्टी निर्माण हुनसक्छ त भन्ने प्रश्नले एउटा बहस सिर्जना गरिदिएको छ । पार्टीले आफूभित्रका केही आन्तरिक समस्याहरूलाई सहीढंगबाट पहिचान गरेर हल खोज्ने हो भने समस्याको निकास सजिलै निस्कन सक्छ ।

यो संक्षिप्त आलेखमा माओवादी केन्द्रभित्र जबर्जस्तरूपमा मौलाउँदै गएका केही आन्तरिक समस्याहरूलाई बुँदागतरूपमा औंल्याउने कोसिस गरिएको छ ।

– चाहेको जिम्मेवारी र अवसर पाउँदा पार्टी र नेतृत्व क्रान्तिकारी देख्ने,नपाउँदा गैर क्रान्तिकारी देख्ने,
– पद र अवसर प्राप्तिका निम्ति जस्तोसुकै घिनलाग्दो खेल खेल्न पनि पछि नपर्ने,
– जिम्मेवारी पाउँदा माखो नमार्ने, नपाउँदा आकाश खसाल्ने हैसियत र क्षमता भएको दाबी गर्ने,
– सहकर्मी÷सहयोद्धाहरूलाई पार्टी सत्तामा प्रतिस्पर्धी ठान्ने र अर्कोलाई खुइल्याउने उद्देश्यले जस्तोसुकै अस्वस्थ, कपोलकल्पित एवम् अतिरञ्जित आरोप लगाउन तथा अपवित्र साँठगाँठ गर्न पनि पछि नपर्ने,
– सकारात्मक नतिजाको जस आफूले लिने र नकारात्मक नतिजाको अपजस अर्कालाई दिन न्वारनदेखिको बल प्रयोग गर्ने,
– आफू अनुकूल स्वार्थ समूह र दबाब समूह निर्माण गरी कालोलाई सेतो र सेतोलाई कालोको रूपमा अथ्र्याउने,
– चाकडीवाज कार्यकर्ताबाट प्राप्त हुने विभिन्न रूप र रंगका नजरानालाई पदोन्नतिको आधार मान्ने,
– सोझा, इमानदार कार्यकर्तालाई योजनाबद्ध हिसाबले लामो समयसम्म जिम्मेवारीविहीन तुल्याई आन्दोलनमा निरन्तरता नभएको आरोप लगाउने र पुनर्संगठित हुने ढोका बन्द गर्ने,
– कार्यकर्ताले सम्पर्क गर्न खोज्दा चाकडी गरेको सम्झने र सम्पर्क नगरे पलायन भएको सम्झने,
– पुराना समर्थक, शुभचिन्तक, कार्यकर्ता र संगठनको संरक्षण तथा विकास गर्दै नयाँ क्रान्तिकारी पार्टी निर्माणमा ध्यान दिनुको सट्टा आफू र आफ्ना आसेपासेहरूको हित संरक्षणमा जोड दिने,
– इमानदार कार्यकर्ताहरूलाई आवश्यक पर्दा प्रयोग गर्ने र प्रयोग गरिसकेपछि उखुको रस चुसेर खोइला मिल्काएझैँ फ्याँकिदिने,
– निश्चित भूगोलका कार्यकर्ताहरूलाई एकै ठाउँमा राखी स्वस्थ छलफल चलाएर रुचि, क्षमता, योग्यता र आवश्यकताका आधारमा जिम्मेवारी र अवसरको बाँडफाँड गरी सबैको चित्त प्रसन्न पार्ने वैज्ञानिक विधि अंगिकार गर्नुको साटो कार्यकर्ताहरूमा आपसी आशंका एवम् वैमनस्यता उत्पन्न हुनेगरी निश्चित नेताहरूको मनोगत धारणाका आधारमा जिम्मेवारी र अवसरहरूको बाँडफाँड गर्ने,
– कमिटीहरू निर्माण गर्दा नेता विशेषको स्वार्थको अनुकुलता हेरी संविधान तथा पार्टी विधान निर्दिष्ट जातीय, लिंगीय आधारलाई यान्त्रिक ढंगले लागू गर्न खोज्ने तर उक्त आधार आफू प्रतिकूल देखिएमा वर्गीय दृष्टिकोणको सहारा लिएर समावेशीकरणको प्रश्नलाई नजरअन्दाज गर्न खोज्ने,
– भेला, बैठक तथा सार्वजनिक सभा, समारोह सञ्चालन गर्दा कथित वरिष्ठता र कनिष्ठताको पर्खाल खडा गरी सामन्ती अहंकारवादको अभ्यास गरेर सहयोद्धा कमरेडहरूको आत्मसम्मानमा चोट पुर्याउने,
– पार्टीको आधारस्तम्भको रूपमा रहेका टोल तथा सेल कमिटीहरूको वैचारिक स्तरोन्नतिमा खास ध्यान नदिने,
– पार्टी सदस्यता वितरण तथा नवीकरणमा निश्चित मापदण्ड नअपनाई भेला, सम्मेलनहरूमा आफ्नो बहुमतसिद्ध गर्ने दुराशय राखेर सदस्य बनाइएको व्यक्तिलाईसमेत जानकारी नहुनेगरी एउटै व्यक्तिले मतदाता नामावलीबाट फाराम भर्ने÷भराउने,
– भेला, सम्मेलनहरूलाई विचारहरूको मन्थन गरी कार्यकर्ताहरूलाई उच्च वैचारिक हतियारले सुसज्जित पारेर नयाँ जिम्मेवारीका साथ कार्यक्षेत्रमा फर्काउनुको साटो नेतृत्व हत्याउने अस्वस्थ कर्मकाण्डी क्रीडास्थलको रूपमा दुरुपयोग गर्ने,
– एउटै वस्तु, विषय,घटना, पात्र वा प्रवृत्तिका सम्बन्धमा प्रस्तुत उही वा उस्तै धारणालाई आफ्नो निजी वा गुटगत स्वार्थ अनुकूल लागेमा आलोचनात्मक चेत मान्दै उच्च प्रसंशा गर्ने अन्यथा अराजक वा अनुशासनहीन करार गरी भित्तोमा पुर्याइदिने,

यसरी आन्तरिक समस्याहरूको फेहरिस्त प्रस्तुत गर्दैगर्दा सकारात्मक पक्ष छँदै छैन भन्न खोजिएको किमार्थ होइन । पार्टीसँग जनयुद्ध र जनआन्दोलनको भट्टीमा खारिएर आएका समर्थक, शुभचिन्तक कार्यकर्ताहरूको विशाल पंक्ति छ । युद्ध र शान्तिकालका आन्तरिक तथा वाह्य भौतिक, वैचारिक, साँस्कृतिक हमलाका आँधिबेहरीलाई चिरेर आएको क्रान्तिकारी नेताहरूको लामबन्दी छ । सबैभन्दामाथि माक्र्सवाद, लेनिनवाद, माओवादको अपराजेय वैचारिक हतियार र त्यसलाई नयाँ विश्वपरिस्थितिसँग मुकाबिला गर्नसक्ने गरी शान लगाएर उजिल्याउन सक्षम कमरेड अध्यक्षसहितको गतिशील सामूहिक नेतृत्व छ ।

यदि आफूभित्रको समस्यालाई समयमै पहिचान गरी सबै नेता तथा कार्यकर्ताहरूले सांगठनिक जीवनमा आइपर्ने समस्याहरूलाई प्रस्तुत सकारात्मक पक्षको आलोकमा जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक सिद्धान्तको कसीमा घोटेर समाधान खोज्ने हो भने एक्काइसौँ शताब्दीमा गर्व गर्न लायक क्रान्तिकारी पार्टी निर्माण हुनेमा कुनै शंका देखिँदैन ।


प्रतिक्रिया दिनुहोस !