केही समस्या परे सोझै मलाई भन्नुस् : ऊर्जामन्त्री भुसाल

केही समस्या परे सोझै मलाई भन्नुस् : ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशंकामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रलाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउन मन्त्रालय तयार रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई हामी चाहिएजति गुणस्तरीय विद्युत उपलब्ध गराउँछौँ ।’

उहाँले सहज तवरले कुनै पनि बिलम्ब नगरी विद्युत उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सोझै प्रबन्ध निर्देशक वा आफूलाई समेत सम्पर्क गर्न आग्रह गर्नुभयो । ‘उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुन्छ भन्ने कुरा हृदयंगम गर्नुहोला, मेरो अपिल यही हुन्छ ।’

निजी क्षेत्रले विद्युत महसुलदर कम गरेर खपत बढाउन सकिने भनि दिएको सुझावमा मन्त्री भुसालले यस विषयमा आफू सकारात्मक रहेको तर विद्युत खरिद दर (पिपिए) का आधारमा महसुलदर हेरफेर गरिनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत खपत गर्ने वैदेशिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमा मन्त्रालयका ऊर्जा सचिव देवेन्द्र कार्कीले ऊर्जा क्षेत्रका गुणस्तर सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र के समस्या परेको हो स्पष्टरूपमा विषय खुलाएर आए त्यस्ता समस्या समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट विद्युत लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले ठूला उद्योगलाई विद्युत उपलब्ध गराउन १३२ केभीका प्रशारण कोरिडोर निर्माण गरेका छौं, त्यसबाट विद्युत लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन ।’

छलफलमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गुणस्तरीय विद्युत उपलब्ध गराउन र ट्रान्समिशन लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाव दिनुभयो । त्यसैगरी छलफलमा सहभागी अन्य उद्योगीहरूले गुणस्तरीय विद्युत उपलब्ध गराउन र विद्युत महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको थियो ।

टिप्पणीहरू