कोरोना परीक्षण गर्ने मास्क तयार

कोरोना परीक्षण गर्ने मास्क तयार

कोरोना महामारी शुरु भएदेखि नै मास्क अनिवार्य गरिएको छ । झण्डै दुई वर्षदेखि विश्वका अधिकांशले मास्क प्रयोग गरिरहेका छन् । कोभिड संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय नै मास्क लगाउनु रहेको शिक्षा दिइएको छ ।

मास्कको काम कोभिड १९ भाइरसको संक्रमणबाट जोगाउनु मात्र रहेको बताइँदै गरेका बेला जापानी वैज्ञानिकहरुले कोरोना परीक्षणसमेत गरिदिने मास्कको विकास गरेका छन् ।

जापानी वैज्ञानिकहरुले ‘स्मार्ट मास्क’नाम दिएको उक्त मास्कले परावैजनी किरणको माध्यमबाट व्यक्तिमा कोरोना संक्रमण भएको छ वा छैन पत्ता लगाउने दाबी गरिएको छ ।

जापानको क्योटो प्रिफेक्चरल युनिभर्सिटीका वैज्ञानिकहरुले यस्तो मास्क बनाएका हुन् । अनुसन्धानकर्ताका अनुसार यो मास्क लगाएपछि स्मार्ट फोनको फ्ल्यास लाइट तथा जुनसुकै लाइटको परावैजनी किरणको सहायतामा कोरोना संक्रमणको अवस्था पत्ता लाग्नेछ ।

मास्कले जतिबेला पनि सम्बन्धित व्यक्तिको शरीरमा कोभिड परीक्षण गरिरहेको हुन्छ । यदि मास्क लगाएको व्यक्तिले फाल्ने श्वासमा कोभिड भाइरस फेला परेमा मास्कमा चम्किलो बत्ती बल्छ र मानिस संक्रमित भएको जनाउ दिन्छ । जापानी वैज्ञानिकहरुले मास्कमा अस्ट्रिचको कोशिकाबाट बनाइएको माउथ फिल्टरको प्रयोग गरेका छन् ।

अस्ट्रिचका कोशिकामा यस्ता एन्टीबडीहरु हुन्छन् जसले कोरोना भाइरसलाई एकत्रित गर्दछ । त्यसैले जब यो मास्क लगाउनेले श्वास फ्याँक्दछ तब श्वासमा भएका भाइरसलाई माउथ फिल्टरले एकत्रित गर्दछ र भाइरस परीक्षण हुन्छ ।

टिप्पणीहरू