भगवान शिवको पवित्र घर : कैलाश पर्वत (फोटो फिचर)

भगवान शिवको पवित्र घर : कैलाश पर्वत (फोटो फिचर)

माउण्ट कैलाश, चीनको स्वशासित तिब्बत प्रदेशमा अवस्थित एउटा पवित्र हिमालय पर्वत हो । उक्त स्थानलाई भगवान शिवको वासस्थानको रुपमा हिन्दु धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धा गर्छन् ।

६६३८ मिटर उचाइमा रहेको यो पर्वत तिब्बतको राजधानी ल्हासाबाट झण्डै १३०० किलोमिटर पश्चिमको दूरीमा पर्दछ । कैलाश पर्वतलाई विश्वमै एउटा पवित्र हिमालको रुपमा पुजिन्छ ।

हिन्दुसहित बौद्ध, जैन तथा तिब्बती बोन धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्रको रुपमा रहेको पर्वतको दर्शन गर्न हजारौं तीर्थयात्र संसारबाट त्यहाँ पुग्ने गर्छन् । मौसम तथा अन्य कारणले गर्दा हरेक वर्ष अप्रिल महिनादेखि अक्टोबर (करिब ७ महिना) सम्म मात्र यो क्षेत्रमा यात्रा अनुमति दिइने गरिएको छ ।

कालो चट्टानबाट बनेको कैलाश हिमाल एक अचम्मको हीरा आकारको चुचुरो हो, जुन सुन्दर परिदृश्यले घेरिएको छ र अत्यन्तै सुक्खा अनि मनमोहक पनि देखिन्छ ।

मुख्यतयाः भारतीय तीर्थयात्रीहरुको ठूलो भीड लाग्ने यो क्षेत्रमा हिन्दु अनुयायीहरुले आफूलाई जसरी भए पनि जीवनमा एक पटक कैलाश पर्वतको परिक्रमा गर्ने चाहना राखेका हुन्छन् । त्यसो गरेपछि आफूले ठूलो पुण्य प्राप्त गर्ने, मनोकामना पूरा हुने र पापमोचन हुने विश्वास राख्छन् ।

कैलाश पर्वत भ्रमणको लागि तिब्बतको राजधानी ल्हासा हुँदै केही दिन सडक मार्ग हुँदै शिगात्से, सागा, पवित्र मानसरोवर ताल, राक्षस ताल, दार्चेन जाने गरिन्छ । नेपालबाट सिमिकोट, हिल्सा, पुर्यांग र दार्चेंन हुँदै जान सकिन्छ । तर, लेक लाग्ने सम्भावनाका कारण केही दिन ल्हासामा बिताएर त्यहाँको उच्चभूमागमा अभ्यस्त भएर मात्रै अगाडिको यात्रा थालनी गर्नुपर्ने अनुभवीहरु बताउँछन् ।

हेरौं, कैलाश पदयात्रा÷तीर्थयात्राको प्रवेशविन्दु दार्चेंनबाट दार्चेंनसम्म कैलाश परिक्रमाको क्रममा खिचिएका केही सुन्दर तस्बिरहरुः

टिप्पणीहरू