भोलिको एजेण्डामा एमसिसी छैन

भोलिको एजेण्डामा एमसिसी छैन

भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधिसभा बैठकको अघिल्लो दिन संसद सचिवालयले ६ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

भोलि दुई बजेदेखि शुरु हुने बैठकमा सभामुखले संसद अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने पहिलो कार्यसूची छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ पेश गर्ने अर्को कार्यसूची रहेको छ । त्यसैगरी, तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश गृहमन्त्री खाँडले बैठकमा पेश गर्ने छन् ।

त्यसपछि भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गर्नेछिन् । लगत्तै कानूनमन्त्री दिलेन्द्र बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ बैठकमा पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

विवादास्पद तथा बहुचर्चित एमसीसी सम्झौता भने संसद बैठकको सम्भावित कार्यसूचीमा परेको छैन ।

टिप्पणीहरू