राष्ट्रपति भैरवनाथ ब्यारेकबाट सोझै जुम्लातिर

राष्ट्रपति भैरवनाथ ब्यारेकबाट सोझै जुम्लातिर

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान जुम्ला प्रस्थान गर्नुभएको छ । उहाँ पौने ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर त्यसतर्फ जानुभएको हो ।

उहाँ चन्दननाथस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा सरिक हुन जुम्ला जानुभएको शितल निवास स्रोतले बताएको छ । साँझ राजधानी फर्कने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रपतिले प्रयोग गर्ने सेनाको हेलिकोप्टर पछिल्लो समयमा नजिकैको सेनाको भैरवनाथ गण रहेको लक्ष्मी निवासबाट उड्ने र बस्ने गरेको छ । आज पनि उहाँ चढ्नुभएको हेलिकोप्टर बिहान पौने ९ बजे त्यहिँबाट उडेको थियो ।

सामुन्ने रहेको शीतल निवासबाट लक्ष्मी निवाससम्म पुग्न राष्ट्रपतिको सवारी दलले १० मिनेटको समय छुट्ट्याउने गरेको छ । आज पनि उहाँ साढे ८ बजे शीतल निवासबाट बाहिरिनुभएको सुरक्षा स्रोतले बताएको हो ।

आज बिहान जुम्लाकाे तापक्रम माइनस ४ डिग्री रहेको  छ । काठमाडौंमा पनि आज बिहानको तापक्रम यो वर्षको सबैभन्दा कम ५ डिग्रीको हाराहारीमा छ ।

टिप्पणीहरू