माधवको कार्यकक्षमा प्रचण्ड र बाबुराम

माधवको कार्यकक्षमा प्रचण्ड र बाबुराम

सत्ता गठवन्धनका तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज साँझ सिंहदरबारमा भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवन नं. १ मा रहेको एकीकृत समाजवादी संसदीय दलको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका लागि साँझ चार बजेतिर प्रचण्ड र भट्टराई अध्यक्ष नेपालको कार्यकक्षमा पुग्नुभएको बताइएको छ ।

नेताहरुबीच भएको छलफलका विषयबारे केही खुलाइएको छैन । तर, एमसीसीका कारण सत्ता गठवन्धनमा किचलो निम्तिन सक्ने चर्चा चलिरहेका बेला सत्ता साझेदार दलका शीर्ष नेताहरुको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

सरकारले आगामी मङ्सिर २८ गते संसद्को अधिवेशन आव्हान गरेको छ । एमसीसी पारित गर्नैका लागि अमेरिकाले दिएको डेडलाइनमै संसद बैठक बोलाइएको चर्चा छ । तर, एमसीसी अनुमोदन गराउनेबारे सत्ता गठवन्धनमै बिबाद छ ।

सरकारको नेतृत्व गरेको कांग्रेस र जसपा कुनै पनि हालतमा एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने माओवादी केन्द्र र समाजवादी संसोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने अडानमा छन् । गठवन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता सदनमा प्रस्तुत गरे गठवन्धनबाट बाहिरिने चतावनी दिँदै आएको छ ।

टिप्पणीहरू