‘रावल: जसले हार्ने जान्दाजान्दै पनि लडाइँ रोजे’

‘रावल: जसले हार्ने जान्दाजान्दै पनि लडाइँ रोजे’

एमालेको गत साता चितवनमा सम्पन्न दशौं महाधिवेशनमा दुई जना भीम नामका नेता पराजित भएका छन् । एक जना अध्यक्षमा र अर्का सचिवमा । तर एमालेभित्र र बाहिर अहिले सबैभन्दा बढी अध्यक्षमा उठेर केपी शर्मा ओलीसँग पराजित भीम रावलको चर्चा ज्यादा छ ।

उनी निकटस्थ प्रतिनिधिहरुले चितवनबाट फर्केपछि भनेका छन्, ‘भीम कमरेडले हारेर पनि जिते ।’ वडादेखि नै पार्टी संयन्त्र पूरै लाग्दा पनि भीमले अध्यक्ष ओलीलाई राजनीतिक सन्देश दिनुभएको उनीहरुको बुझाइ छ । हिजोका दिनमा उनको खस्केको स्थान चितवन महाधिवेशनपछि ह्वात्तै माथि गएको उनीहरु बताउँछन् ।

“विचारको जय र पराजय हुनसक्छ । तर,नेतृत्वलाई हुटिङ गरिँदैन ।”

अब संस्थापन पक्षले जसरी पनि उनलाई पदमा सौदाबाजी गर्न लगाउने आशंका रावल निकट कार्यकर्ताहरुले गरेका छन् । ‘त्यसो गरे भने उनी फेरि पनि सिध्दिन्छन्,’ उनीहरुको निचोड हो यो ।

रावलको पछिल्लो कदमलाई सही भन्दै आएका एक जना राजनीतिक विश्लेषकले पनि ‘उनी अहिलेको अडानमा टिक्ने कुरा मुख्य हो’ भनेका छन् । उनका अनुसार एमालेभित्रका १० भाइ एकआपसमा कहिल्यै एकीकृत थिएनन् । उनीहरुको कुरो र उद्देश्य मिल्दै गएकाले यतिखेर जम्काभेट मात्रै भएको उनको बुझाइ छ । योजनाबध्द मिलन नभएकाले भोलिका दिनमा रावल र घनश्याम भुसाल एक ठाउँमा भए पनि अरु हुन नसक्ने ठोकुवा गर्छन् ।

अध्यक्ष ओली र उनको समूहले देखाएको एकाधिकार र असहिष्णु व्यवहारविरुध्द रावल र भुसाल अग्रमोर्चामा देखिएको समर्थकहरुले बताएका छन् । महाधिवेशनको अन्तिम क्षणसम्म पनि रावलले अन्तिममा गएर खुट्टा लरबराइदिए आफैंले अध्यक्षमा चुनौती दिनेसम्मको योजना नेता भुसालले राख्नुभएको समेत बुझिएको छ ।

उनी निकट धेरैजना कार्यकर्ताले केपी ओलीजस्तो गैंडाले झण्डा बोकेको उम्मेदवारसँग भिडेर भए पनि रावलले एमालेको आन्तरिक राजनीतिमा दूरगामी हिसाबले अर्को झण्डा गाडेको निचोड निकालेका छन् । तर,नेता रावल आफ्नो अडानमा टिक्न नसके उनीहरुको निचोड तुहिने निश्चित छ ।

हुन त अब रावलले संस्थापन पक्षसँग सम्झौता गर्नुपर्ने कुनै आवश्यकता र स्थान बाँकी देखिँदैन । ‘ह्युमिलिएशन’ पराकाष्ठामा पुगेकाले रावल ब्याक हुने अवस्था बन्द भएको बताइन्छ । पछिल्लो पटक बन्दसत्रमा समेत उनको हुर्मत लिने प्रयास भएको प्रतिनिधिहरु बताउँछन् । फरक विचारलाई सुन्नै नचाहने जमातले रावलविरुध्द हुटिङ गरेका थिए ।

सामान्यतयाः कम्युनिष्ट पार्टीको आन्तरिक बैठक,अधिवेशनमा हुटिङ भन्ने हुँदैन । त्यहाँ विचारको मन्थन हुन्छ । विचारको जय र पराजय हुनसक्छ । तर,नेतृत्वलाई हुटिङ गरिँदैन । रावल र भुसाल निकट एक जना प्रतिनिधिले भने, ‘अध्यक्ष जस्तो,कार्यकर्ता पनि उस्तै । फरक मत सुन्नै नचाहने ।’

टिप्पणीहरू