एमाले महाधिवेशनः ओली फोबियाको भद्दा प्रदर्शन

एमाले महाधिवेशनः ओली फोबियाको भद्दा प्रदर्शन

– समाजवादी केटो

नेकपा एमालेमा केपी शर्मा ओलीको उदय र नेकपा निर्माणपछि नेपालको राजनीतिले थुप्रै अवसरका बाबजुद धेरै क्षति व्यहोर्न पुगेको छ । विश्वमा कम्युनिष्ट नामधारी पार्टी र आन्दोलन विघटनको अन्तिम बिन्दुमा पुगेकै बेला नेपालमा कम्युनिष्ट आन्दोलनले ओलीकै पालामा शिखर चुम्यो । समाजवादी यात्राको परिकल्पना गरेको संघीय नेपालको संविधानका आधारभूत सत्र पूरा गर्ने अभूतपूर्व अवसर यिनै ओलीको काँधमा थियो ।

विडम्बना, संविधानसभाबाट निर्मित संविधानको न्यूनतम मर्यादा राख्न नसक्दा यही कालखण्डमा प्रतिनिधिसभा दुई, दुई पटक विघटन भयो । दुबै पटक अदालतले पुनःस्थापनाको फैसला ग¥यो । यसो गर्नेमा दुबै पटक केपी शर्मा ओली देखा परे । पहिलो पटक नेकपाका अध्यक्षको रूपमा र दोस्रो पटक नेकपा (एमाले) अध्यक्षको रूपमा । ओलीको यो निर्णयले प्रतिनिधिसभा विघटन मात्रै भएन, पहिलो विघटनपछि नेकपा फुट्यो भने दोस्रो विघटनपछि नेकपा एमाले ।

अहिले जताततै अराजकताको अवस्था छ । ओली कदमपछिको नराम्रो परकम्प व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा अहिले पनि देखिनै रहेको छ । सबैभन्दा ठूलो धक्का नेपालको वामपन्थी कम्युनिष्ट आन्दोलनमा पुगेको छ । कम्युनिष्ट भएर पनि पूर्ण लोकतान्त्रिक बाटोमा हिँडिसकेको भनिएको एमाले अमूक व्यक्तिको तजबिज, सर्वाधिकार र प्राधिकारमा चल्ने पार्टीमा रूपान्तरण भएको छ । छलफल, परामर्श, विधि, पद्धतिभन्दा पनि आफ्नो स्वविवेकीय अधिकारको प्रयोग गर्ने ओलीको मनोविज्ञानले पार्टी सिष्टम नै धर्मराउने हो कि भन्ने त्रास यत्रतत्र छ । नेकपाकालदेखि नै पार्टीदेखि सरकारका हरेक पद र अवसरहरू आफ्नो निगाहमा बाँड्न थालेका ओलीले ‘त्वम् शरणम्’ गर्नेलाई मात्रै महत्व दिने गरेको भद्दा प्रदर्शन एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा भएको छ ।

मंसिर १० देखि १२ गतेसम्मको कार्यतालिका तय भएको महाधिवेशनमा ओलीले सर्वाधिकारको नाममा लोकतान्त्रिक अभ्यासको चीरहरण गर्न खोजे । उद्घाटनमा मान्छे देखाउनकै लागि भएभरको सम्पत्ति र ऊर्जा खर्च गरे । उद्घाटनबाट बन्दसत्रसम्म पुग्दा त ती लाखौं मानिस र नेतृत्व छनोटकै लागि छानिएका दुई हजारभन्दा बढी प्रतिनिधिहरू केही पनि होइनन्, जे हुन् ओली नै हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो । ओलीलाई पार्टी नेतृत्वमा उदाएदेखि नै एकछत्र साम्राज्य खडा गर्न खोजेको आरोप लाग्दै आएको थियो ।

प्रशंशा भोगमा लिप्त ओलीको त्यही अभियानको सफलता नै भन्नुपर्छ पार्टीभित्र विचार, बहस र विरोधीको तेजोबध भइसकेको छ । अहिलेको एमाले निर्माणमा भूमिका खेलेका तर ओलीको एकछत्र साम्राज्यको हिस्सा बन्न नसक्ने माधवकुमार नेपाल, झलनाथ खनाल वामदेव गौतमहरू अलग भए । एकाधबाहेक एमालेमा सम्पूर्णरूपमा ओलीको जयजयकार गर्नेहरू मात्रै बाँकी छन् भन्ने कुराको अन्तिम पुष्टि पनि यही महाधिवेशनबाट भयो ।

पार्टी कसैको एकलौटी सम्पत्ति होइन भन्ने मध्ये बाँकी रहेका दुई थान भीम र घनश्यामहरूको हुर्मुत लिने काम भयो । पार्टीभित्रका यस्ता लोकतान्त्रिक प्रतिपक्ष जसले पार्टीमा ओलीको एकलौटी सर्वाधिकार स्थापित भएको जान्दाजान्दै ‘हामीलाई कम्तिमा पराजित हुने मौका त देऊ’ भन्दा पनि सजिलै त्यसो हुन दिइएन । उल्टै रावलविरुद्ध नाराबाजी भयो । प्रचार सामग्री थुत्न लगाइयो । अन्ततः आफ्ना हजारौं कार्यकर्ता भएकै ठाउँमा सुरक्षा चुनौती बढेको भन्दै राज्यले रावलको सुरक्षा दस्ता बढाएको खबर आए । देश र कम्युनिष्ट आन्दोलनले भरोशा गरेका नेताहरूले नै ‘मलाई कुनै पद निगाहमा चाहिँदैन, कम्तीमा पराजित हुने हक त देऊ !’ भनेर आफ्नै पार्टीमा बिन्ती चढाउनुपर्ने, लाख कोसिस गर्नुपर्ने एमालेको चरित्र निर्माण गरियो ।

एमाले र माओवादी केन्द्रबीचको एकताका कारण ९ औं महाधिवेशनपछि निर्धारित समयभन्दा निकै ढिलो भएको १० औं महाधिवेशन हरेक दृष्टिबाट प्रतीक्षाको विषय बनेको थियो । देशकै ठूलो राजनीतिक दल र कम्युनिष्ट आन्दोलनको मूलप्रवाह भनिएको एमालेले आफ्नो छवि कसरी सुधार्ला ? ओली नै अध्यक्ष रहेको बेला जुटेका दुई पार्टीबीचको एकता, झण्डै दुई तिहाई नजिकको जनमत र यही बेला एकता भंग, एमालेको फुट ।

कम्युनिष्ट पार्टीबीच नै चरम राजनीतिक ध्रुवीकरण । यी सबै अवस्थाको एकमुष्ट जवाफ महाधिवेशनबाट कसरी आउला ? ओलीले विधि, विधान, कसैसँग छलफलबिनै आफ्नै तजबिजको विशेषाधिकार प्रयोग गर्न खोज्दा भएको अन्योलता, अराजकता र त्यसको करेक्सन होला कि निरन्तरता ? सो पार्टीमा कुनै पद्धति र विधिको गुञ्जायस बाँकी रहला कि नरहला ? एमालेको अबको बाटो के होला ? भन्ने आमजिज्ञासा थिए ।

तर, गएको करिब दुई÷तीन वर्षदेखिको चरम उच्छृंखलता, गालिगलौज, अरूलाई होचो देखाउन गर्ने प्रयत्नले विराम पाएन । जोरजाम गरेर खुलामञ्चमा उतारेका लाखौं मान्छेको अगाडि मभन्दा अरू केही पनि होइनन्, यो नेपाल राज्यमा भएका अरू दल, अरू नेता, अरू मान्छे फगत बेकार हुन् भनेर उछित्तो काढे । बन्दसत्रमा पुग्दा त प्रतिनिधि भएर आएका सबै नेता–कार्यकर्ता आदेशपालक मात्रै हुन्, ओलीभन्दाबाहेक ती कसैमा विवेक भन्ने कुनै चिज बाँकी छैन भने जसरी २ घण्टा प्रवचन दिए ।

पार्टीमा लोकतन्त्र भनेकै सहमति हो भन्दै ओलीले शक्तिको अधिनायकवादी र असहिष्णु प्रयोगको भाष्य निर्माण गर्न खोजे । प्रवचनमा नेकपा एमालेले एकैदिनमा वडा, पालिकालगायतको निर्वाचन कसरी गर्न सक्छ भन्ने कुरा अरू पार्टीले पनि सिक्नुपर्छ भने तर वडादेखि नै ‘मत थुनेर अधिवेशन’ भइरहेको तथ्यलाई सिंगो देशले हँसिमजाकको विषय बनाइरहेको पत्तै पाएनन् ।

बन्दसत्रको समय घर्किंदै जाँदा विवेक, बहस, विचार विवेचना गर्नेहरूको हालत भीम रावल र घनश्याम भुसालको जस्तो हुन्छ भन्ने त्रास उत्पन्न गरे । ओलीको साम्राज्यमा केवल ‘सेलेक्सन हुन्छ इलेक्सन हुँदैन’ भन्ने मानक स्थापित गर्न भएभरको शक्ति लगाए । ओली रहँदासम्म अरू कोही केही होइनन् भन्ने अहंकारले देश, जनता र पार्टीले विगत निर्वाचनदेखि नै कुनै न कुनै रूपमा दुख पाइनै रहेको छ । धेरैलाई लागेको थियो ओलीको हरेक कटु वचनमा पनि थपडी मारिरहेको जमातले महाधिवेशनमा केही लगाम लगाउने छ ।

तर, महाधिवेशनबाट ओली थप उन्मत्त हुने संकेत देखिएका छन् । हिजो अरूलाई गाली दिने, पार्टीमा रहेका फरक विचार समूहलाई लखेट्ने गरी मैदानमा उत्रिएका ओलीलाई आज आफ्नो मात्रै होइन पार्टीका ३०१ जना केन्द्रीय नेता र अरू देशभरिका लाखौं नेताको भविष्यको जिम्मा दिइयो । यसको परिणाम पनि चाँडै देखिएला नै !

अब एमालेमा बाँकी रहेका आलोचनात्मक चेतसहितका प्रतिपक्ष रावल र भुसालले मैदान कति फराकिलो बनाउलान् त्यो पनि भविष्यमा देखिने नै छ । तर, हिजोदेखि आजसम्म बाँकी रहेको ओलीपक्षीय एमालेमा ‘ओली फोबिया’ ले चरम सीमा नाघ्ने पर्याप्त संकेत देखिएका छन् । चिकित्सकीय भाषामा कुनै व्यक्तिलाई कुनै कुरा वा चिजको डर लाग्छ भने त्यसलाई फोबिया भनिन्छ ।

एमालेमा देखिएको ओली फोबियाले पनि एकखालको रोगको रूप ग्रहण गरिसकेको छ । यो विशेषगरी आफूभन्दा सिनियरलाई बढी आदरसम्मान गर्नुपर्छ भन्ने मनोविज्ञानमा हुर्केको ‘बोस फोबिया’ कै रूप हो । यसमा बोस आफूभन्दा ठूलो हैसियतको हो र उसमा अधिकार वा शक्ति छ भन्ने विचारका कारण एक प्रकारको डर उत्पन्न हुन्छ ।

यो फोबिया हुनुमा दुई पक्षको भूमिका हुन्छ । पहिलो, कुनै व्यक्ति उच्च पद वा अधिकारमा पुगेपछि ‘पावर प्ले’ गर्छ, यसले अरू व्यक्तिमा डर उत्पन्न गराउँछ । यस्ता व्यक्तिहरूलाई भविष्यबारे धेरै चिन्ता हुन्छ र बोसको सहयोगविना त्यो भविष्य निर्माण हुन नसक्ने भय हुन्छ । अहिलेको स्थान नै अन्तिम ठाउँ हो भन्ने लाग्छ । अर्को, बोसको व्यवहार र हैसियतको प्रयोग गर्ने शैलीले पनि डर उत्पन्न गराउँछ ।

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ओलीको प्रस्तुति, सर्वसम्मत नेतृत्व चयनका नाममा ३०१ जनाको नाम सिफारिसको अधिकार दिने प्रस्ताव ल्याउँदा बजेका ताली, ‘जे जे गर्छौ बा, हामी सबै साथमा छौं’ भन्ने शैलीमा लगाइएका नारा, १० बुँदेले सेफल्याण्डिङ भएका १० भाइ÷बहिनीमध्येका ८ जनाको पछिल्लो भूमिकालगायतलाई हेर्दा एमालेमा बोस वा ओली फोबिया निकै गाडिएको संकेत गरेको छ ।

अन्त्यमा, एमालेले गत १५–१७ असोजमा विधान महाधिवेशन गरेर विधान तथा राजनीतिक प्रतिवेदन पारित गरिसकेको थियो । पार्टीमा ओलीको अबको रूपको केही छनक त्यही बेलै गरिसकिएको हो । लेख्न त त्यसै बेला राजनीतिक प्रतिवेदनमा ‘नीति, विधि र नेतृत्व निर्माणमा पार्टी सदस्यको निर्णायक भूमिका र सार्वभौमसत्तालाई प्रत्याभूत गर्ने’ भन्ने लेखिएकै हो । तर, केही महिना पनि त्यो टिकेन । संविधान नै आफू खुशी चलाउने ओलीलाई ‘ओली फोबिया’ भएका कार्यकर्ता रहेको आफ्नै पार्टी विधान चलाउन आइतबार पर्खिनुपर्ला र ! कम्युनिष्ट वामपन्थी आन्दोलनमा उँचो कद बनाइसकेका नेपाल र खनाललाई किनारा लगाएका ओलीको अगाडि रावल र भुसाल के हुन् र ! भन्ने चर्चा हुन थालेको छ ।

हिजो भनिएकै हो, ओलीलाई अब आफ्नै सुर पार्टी चलाउन दिँदा हुन्छ । उनलाई सानोतिनो तागतले रोक्न सकिँदैन । चुनाव चिह्न र एमाले ब्राण्डको चिन्ता हो भने पनि इतिहासको कुनै कालखण्डमा ओलीको अनुपस्थितिमा त्यसमा जोडिन सकिएला नै । तर, अहिले ओलीसँग लडेर आफ्नो ऊर्जा विनाश गर्नुभन्दा नेपाली जनता र राजनीतिमा योगदान गर्ने चाहनालाई अरू माध्यमबाट उपयोग गरे पनि हुन्छ भनिएकै हो । ओली छँदै, ओलीलाई कसैले पनि सुधार्न नसक्ने कुरा बौद्धिक जमातले पटक पटक भनेकै हुन् ।

अनुभव, तमाम उतार चढाव र नेपाली राजनीतिमा राजादेखि गिरिजाप्रसादसँगको संगतले खारिएका माधवकुमार नेपालहरूले बुझे, १० बुँदेको टालाटुलीले कम्युनिष्ट नेतामा हुनुपर्ने न्यूनतम आदर्शबाट च्यूत भएका ओलीबाट फाटेको मन सिउन सकिँदैन भने । बाटो तताए । नभन्दै, विद्रोह गरेको केही महिनामै देशव्यापी संगठन बनाएर दिनहुँ गतिविधि भइरहेका छन् । वृद्ध शरीर लिएर माधव नेपालले देश दौडाहा गरेको देख्दा लाग्छ भीम रावल, घनश्याम भुसालहरू भएको भए योभन्दा अझै धेरै हुन सक्थ्यो । ओलीलाई रोक्ने र छेक्ने योभन्दा अर्को बाटो तत्काल थिएन एमालेजनहरूका लागि । त्यो बाटो अझै अवरुद्ध भइसकेको छैन ।

अर्को, अहिलेको कुनै पनि पार्टीमा ओलीको जस्तो एकछत्र राज छैन । करिब करिब सत्प्रतिशत समर्थन नेपालका कुनै पार्टीको नेतालाई छैन जस्तो ओलीलाई छ । यस्ता कार्यकर्ताको विश्वासलाई ओलीले गालीगलौज, प्रतिरक्षा र प्रतिकारमै नभई देश निर्माणमा प्रयोग गर्न सक्छन् ।

समाजवादको आधार तयार गर्न त्यो पार्टीपंतिलाई उत्पादन र निर्माणमा लगाउनसक्छन् । तत्काल यो हुने सम्भावना देखिँदैन । र, महाधिवेशन मुलुकका सारभूत समस्या र तिनको समाधानका लागि नीति, रणनीति र कार्यक्रम निक्र्योल गर्ने अवसर हो । तर ओली यस्तो अवसरलाई विपक्षीहरूलाई तुच्छ गाली गर्ने र लाखौँ पैसा खर्च गरेर मान्छे ओसारी भीड प्रदर्शनमै सीमित गर्न पुगे । अब निकट भविष्यमा राष्ट्रिय महाधिवेशन गर्न लागेका अरू दलले यसको भद्दा नक्कल नगरुन् ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । त्यसले विधि, पद्धति र थितिको परिकल्पना गर्छ । विचारशून्य कार्यकर्ता र लोकतन्त्रको आवरणमा आफूलाई अरू सबैभन्दा विशेष ठान्ने र बोस फोबियाबाट ग्रस्त कार्यकर्ताको ऊर्जा दुरूपयोग गर्ने कार्यले पार्टी, देश, समाज र विश्व राजनीति कसैको उत्थानमा सहयोग गर्न सक्दैन । अन्ततः यो प्रवृत्ति विनाशको कारण मात्रै हुन्छ । सबै समयमै सचेत बनौं ।

टिप्पणीहरू