सिपी मैनालीले राजाको चर्को प्रशंसा गरेपछि प्रचण्ड फायर

सिपी मैनालीले राजाको चर्को प्रशंसा गरेपछि प्रचण्ड फायर

काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममै दुई कम्युनिष्ट नेताबीच लफडा भएको छ । ‘पूर्वपञ्चहरु’ को कार्यक्रममा शुभकामना दिन पुगेका नेकपा मालेका महासचिव सीपी मैनालीले राजाको प्रशंसा गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आक्रोशित हुनुभएको हो ।

प्रचण्डभन्दा पहिले बोल्नुभएका मैनालीले नेपालको राजनीतिक इतिहासमा भएका राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तनबाहेक अरु सबै वाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको दाबी गर्नुभयो । उहाँले त्यसोभन्दा राप्रपाका कार्यकर्ताहरुले समर्थनमा गडगडाहट तालि बजाएका थिए ।

लगत्तै बोल्नुभएका प्रचण्डले आफ्नो सम्बोधनको प्रारम्भमै मैनालीका भनाइको खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, ‘म त्यसैगरी त भन्न सक्दिँन, हाम्रो सिपिजीले बडो सजिलोसँग भन्दिनु भयो । राजतन्त्र हटाउन टाउको काट्ने आन्दोलनको नेतृत्व गर्नुभएका उहाँले अहिले महान् राजा भन्नुभयो । कतै राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ केरे !’

प्रचण्डले राप्रपा र आफूहरुबीच विचार र दर्शनमा कुरा नमिले पनि राष्ट्रवाद र देशभक्तिको मुद्दामा भने एक हुन सकिने धारणा राख्नुभयो ।

त्यसपछि सम्बोधन गर्नुभएका राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री लाेकेन्द्रबहादुर चन्दले मैनाली आफ्नो पार्टीमा आए स्वागत गर्ने बताउनुभयो । ‘अघि सिपी मैनालीजी राप्रपाको अध्यक्ष बन्दै हुनुहुन्छ कि क्या हो भन्ने कुरा पनि उठ्यो’, उहाँले हाँस्दै भन्नुभयो, ‘उहाँ (सिपी) आउनुभयो भने हामी स्वागत गर्छौँ ।’

टिप्पणीहरू