शोकमा डुब्यो गाउँपालिका, हिजो सबै कामकाज बन्द

शोकमा डुब्यो गाउँपालिका, हिजो सबै कामकाज बन्द

-अमृत बास्कुने

हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा सोमबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते हुँदा बेगखोला गाउँ पिडामा र पूरै गाउँपालिका शोकमा डुबेको छ । रगुघंगा गाउँपालिका–१ कि वडा सदस्यसहित चार जनाको ज्यान जाने गरी भएको दुर्घटनामा परेका सबै आठ जना नै एउटै वडाका हुन् ।

गाउँपालिकाको एक नम्बर वडाकी वडा सदस्य २९ वर्षिय गौमायाँ बिक.सहित गाडीका चालक ३५ वर्षीय दुतबहादुर थापा, २५ वर्षका खिम पुन र ५७ वर्षे खिमनाथ शर्माको मृत्यु भएको हो । एकै गाउँका सबै जना सवार गाडी दुर्घटना हुँदा गाउँ पूरै सुनसान भएको छ – रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले भन्नुभयो । २० वर्षे भिम फगामी, ४५ वर्षीय बेलबहादुर बिक, २३ वर्षीय मनोज पुन र ३० वर्षका ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् ।

गाडीका चालक दुतबहादुर थापा त्यस क्षेत्रकै अनुभवी चालक रहेको रघुगंगा गाउँपालिका–१ बेगका वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभएको छ । फगामीका अनुसार आर्थिक रुपमा विपन्न थापाको सम्पत्तिको रुपमा नै त्यही एउटा गाडी थियो । एक छोरा, दुई छोरी र श्रीमती भएका थापाले बेनी–बेग गाडी चलाउन थालेको साढे २ वर्ष भएको थियो । ‘घुम्तिमा सँधै ब्याक गरेर अगाडी लानु पर्ने थियो सोेमबार के भएछ ब्याक गर्दा गाडी डिल मुनि पुगेछ,’ अध्यक्ष फगामीले भन्नुभयो ।

किनमेललगायका कामका लागि सदरमुकाम आएका अन्य सर्वसाधारण तथा बिबाहमा सहभागी भएर वडाको कामको निम्ति गाउँ फर्केकी वडा सदस्यसहितको गाडी दुर्घटनामा परेपछि रघुगंगा गाउँपालिकाले हिजो एक दिन शोक मनाएको छ । गाउँपालिकाले श्रद्धाञ्जलीसभा गरेर पालिकाभित्रका सबै कामकाज बन्द गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले भन्नुभयो–‘शोकसभा गरेर एक दिनका लागि सम्पूर्ण सेवा बन्द गरियो ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार मृतकका परिवारलाई किरियाखर्च वापत प्रतिपरिवार जनही ५० हजार रुपियाँका दरले राहत उपलब्ध गराइने छ । ‘गाउँपालिकाभित्रै भएको दुर्घटना, पालिका भित्रैका व्यवसायी भएको र परिवारको सम्पत्तिका नाउमा त्यति गाडी मात्रै थियो, त्यसैले उनको त मृत्यु भयो परिवारलाई कम्तिमा राहत मिलोस भनेर गाउँपालिकाले यो कदम चालेको हो,’ सुवेदीले भन्नुभयो ।

त्यस्तै गाउँपालिकाले घाइते चार जनाको उपचार खर्च बढीमा एक लाख रुपैयाँसम्म व्यहोर्ने भएको छ । गाउँपालिकाले किरियाखर्च वापत ५० हजार र उपचार खर्च बढीमा एक लाख सम्म उपलब्ध गराउने जनाएको छ ।

सोमबार साँझ बेनीदेखि रघुगंगा गाउँपालिका–१ बेगको सिम जाँदै गरेको ग.१ज ७२५१ नम्बरको जीप बेगखोलाको औलस्थित घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको थियो ।

टिप्पणीहरू