गल्यो बार, गोलाप्रथा लागू भएपछि हट्ने संकेत

गल्यो बार, गोलाप्रथा लागू भएपछि हट्ने संकेत

प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ । गोला प्रथाद्वारा मुद्दाको पेशी तोक्ने सर्वोच्च अदालत फूलकोर्टको निर्णयको स्वागत गर्दै बारले तत्काल कार्यान्वयन भए आन्दोलन छोड्ने संकेत दिएको हो ।

बारले गोला प्रथाद्वारा पेशी तोक्ने निर्णय कार्यान्वयनका लागि सर्वोच्च अदालतको ध्यानाकर्षण पनि गराएको छ । तर, मंसिर १ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रथामार्फत् पेशी तोक्ने साउन १७ गते गरेको निर्णय कार्यान्वयन् नगरी नियमावली मात्र संशोधन गरेकोमा भने बारले असन्तुष्टि जनाएको छ ।

आज केन्द्रीय समितिले गरेको निर्णयबारे सबै इकाइहरुलाई जानकारी दिँदै बारले भनेको छ, ‘सर्वोच्च अदालत आफैंले २०७८/०४/१७ गतेका दिन मिति २०७८ मंसिर १ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रणालीमार्फत पेशी तोकिने भनि पत्राचार गरेकोमा सोबमोजिम नगरी नियमावली मात्र संशोधन गरिएको र जिल्ला तथा उच्च अदालत नियमावली संशोधन नगरी उदासिन रहेको पाइएकाले तत्काल जिल्ला तथा विशेष अदालत नियमावली संशोधन गरि गोला प्रणाली लागू गर्ने गराउने व्यवस्था मिलाउन सर्वोच्च अदालत फूलकोर्टसँग जोडदार माग गर्दछ ।’

उक्त संशोधन भएर नआउँदासम्म विरोधका कार्यक्रम यथावत राख्ने पनि बारको निर्णय छ । बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनलाई अनिवार्य शर्त भन्दै सर्वोच्च, उच्च, विशेष तथा जिल्ला अदालतहरुमा कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै आएको छ ।

न्यायालय सुधारका लागि बार, न्यायाधीशलगायत कानुन व्यवसायीहरुले उठाउँदै आएको गोला प्रणाली लागू गर्न प्रधानन्यायाधीशसँगै न्यायाधीशहरु तयार भैसकेका छन् । त्यसका लागि सर्वोच्च अदालत नियमावली संशोधनसमेत गरिएको छ ।

कानुन व्यवसायीहरुको आन्दोलनलाई सहयोग पुर्याउने गरि इजलास बहिष्कार गरेका न्यायाधीशहरु बेञ्चमा फर्किएपछि अप्ठेरोमा परेको बार नेतृत्व पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम पुनरावलोकन गर्ने मनस्थितिमा पुगेको आजको निर्णयले देखाएको छ ।

टिप्पणीहरू