ओमिक्रोन भेरियन्टसँग आत्तिनुपर्ने अवस्था छैन : डा. पुन

ओमिक्रोन भेरियन्टसँग आत्तिनुपर्ने अवस्था छैन : डा. पुन

विश्वमा कोरोना भाइरस थप चिन्ताको विषय बन्दै गएको छ । सन् २०१९ मा चीनको वुहानबाट फैलिएको कोरोनाको तेस्रो लहर समेत विभिन्न देशमा भित्रिएको बताइएको छ ।

दोस्रो लहरका रुपमा आएको कोरोनाको डेल्टा भेरियन्ट आक्रामक बनेको थियो । डेल्टा भेरियन्टको संक्रमणपछि विश्व पुन सामान्य अवस्थामा फर्किरहेको समयमा गत साता दक्षिण अफ्रिकामा भाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन फेला परेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

ओमिक्रोन फेला परेपछि विश्व स्वास्थ्य संगठनले सबैलाई सचेत रहन आग्रह गरेसँगै अहिले विश्व थप आतंकित बनेको छ । नयाँ भाइरसबारे पूर्णविवरण थाहा नभइसकेकाले यसलाई डब्ुलएचओले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।

ओमिक्रोनले परीक्षण विधिलाई नै चुनौती दिएका कारण यो खतरनाक सावित हुन सक्ने अनुमान स्वास्थ्य संगठनले गर्दै आएको छ । यस विषयमा थप जानकारी दिँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका संक्रामक रोग विशेषज्ञ डाक्टर डाक्टर शेरबहादुर पुनले यसबारे पर्याप्त जानकारी नआइसकेको बताउनुभएको छ ।

जनआस्थासँगको कुराकानीमा डाक्टर पुनले हालै फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दोस्रो लहरको डेल्टा भाइरसभन्दा बलियो छ भन्ने कुरामा आफू विश्वस्त नभएको बताउनुभएको छ । उहाँले सर्वसाधारणको तथ्य नबुझि आत्तिने बानीले खोप लगाएकालाई समेत ओमिक्रोनले नछाड्ने भन्न भ्रम फैलाइएको बताउनुभयो ।

पुनका अनुसार ओमिक्रोनबाट डराइहाल्नुपर्ने अवस्था छैन् । दक्षिण अफ्रिकालगायतका मुलुकहरुमा कम मात्रामा खोप लगाइएको कारण यो भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ । ओमिक्रोन अझै धेरै खोप लगाएका मुलुकहरुमा फैलिनसकेको र यदि खोप लगाएका मुलुकहरुमा समेत यसको रफ्तार तीव्र रहेमा यो घातक सावित हुने बताउनुभयो ।

‘खोपले काम नगर्ने भन्ने भ्रम हो’ डाक्टर पुनले जनआस्थालाई भन्नुभयो । उहाँले ओमिक्रोन पत्ता लागेको पाँच दिनभित्र ३० भन्दाबढी म्युटेशन फेला परेको जानकारी दिनुभयो । म्युटेशन फेला पर्दैमा डराउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

उहाँले ओमिक्रोन इस्पाइक प्रोटिन प्रयोग गरेर मानव शरिरभित्र प्रवेश गर्ने भएकाले संक्रमणको जोखिम बढी हुने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । यसबाट बच्न पनि पुरानै नियम र मापदण्डहरुको अवलम्बन गर्नुपर्ने उहाँको सुझाव छ ।

यसले खोप र परीक्षण विधिलाई समेत चुनौती दिएका कारण यो घातक हुनसक्ने अनुमान भने गरिएको छ । नेपालमा यसको परीक्षण हुने बताइए पनि पछिल्ला केही नमुना परीक्षण भेरिफिकेशनका लागी बेलायत पठाइएको उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू