​राजदूत मार्नेको खुल्यो रहस्य

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषी अहिलेसम्म पक्राउ नपर्दा आलोचित भइरहेको प्रहरीले त्यस्तै जटिल एउटा हत्या प्रकरणका कसुरदारको भने पहिचान गरिसकेको छ ।

भदौ ४ गते बबरमहलस्थित आफ्नै घरमा मारिएका फ्रान्सका निम्ति पूर्वराजदूत केशव झाको हत्यारा पहिचान भएको, तर प्रमाण र कारणसम्बन्धी सबुत नहुँदा प्रहरी अलमलमा परेको हो । लामो समयको अनुसन्धानपछि उनकै घरमा गार्ड र भान्सेको काम गर्ने सानु तामाङ उक्त हत्याको एकल कारक ठहर भएका छन् । प्रहरीले घटनालगत्तै अनुसन्धान क्रममा ४८ वर्षीय गार्ड तामाङसहित ५३ वर्षीय माली आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीको जर्मन सेफर्ड कुकुर म्याक्सले गार्ड तामाङतिर नाक सोझ्याएको तर, हत्या गरेको सबुत फेला नपर्दा र निरन्तर इन्कारी बयान दिँदा उनी पक्राउ परेर पनि छुटेका छन् ।

महानगरीय प्रहरी कार्यालयमा गरिएको पोलिग्राफ विधिको बयानका क्रममा धेरै कुरा ढाँटेका थिए । अहिले प्रहरीले उनको भूमिका प्रमाणित गर्ने दुईवटा आधार तयार पारेको छ । एक हो, हत्यामा प्रयोग भएको चक्कु भान्साबाट ल्याइएको र उनी आफैं भान्से रहेको । अर्को हो, सिरानी । पूर्वराजदूत झाले अघिपछि प्रयोग गर्ने सिरानी हत्या हँुदा उनकै कोठामा दुरुस्तै थियो । उक्त सिरानी भने उनै गार्डले गेटसँगैको टहरामा सुत्दा प्रयोग गर्ने गरेको खुलेको प्रहरीस्रोतको दावी छ । उनी केही समय भारतमा सेफको जागिर खाएर नेपाल फर्किएका हुन् । करिव १० वर्षदेखि झाको घरमा कार्यरत थिए । हत्यालगत्तै पक्राउ परेको बेला सार्वजनिक मुद्दामा आठ हजार धरौटी तिरी जिल्ला प्रशासनबाट मुक्त भएका तामाङविरुद्धको अभियोग र कसुर प्रमाणित गर्ने कागजात एवं सबुत संकलनको काम अन्तिम चरणमा पुगेको बताइन्छ । त्यसरी ८० वर्षे बृद्ध झाको हत्या गर्नुका पछाडि आर्थिक कारण रहेको अनुसन्धानबाट खुलेको छ ।

त्यसो त प्रहरीले झाको हत्यामा पत्नी ज्ञानुमाथि पनि शंका नगरेको होइन । तर, अभियोग प्रमाणित हुने कुनै आधार फेला नपरेपछि उनी निर्दोष रहेको ठहर भएको थियो । शंका गर्नुपर्ने एउटै आधार हो घटना भएको रात उनी पहिलो तलामा सुतेकी थिइन् । प्रहरीअनुमान थियो, कतै हत्यारा ज्ञानु सुतेकै ठाउँबाट त छिरेन ? किनभने, उनी सुतेको कोठाको जालीयुक्त झ्यालमा अलिकति प्वाल देखिन्छ । शंका थियो, कतै त्यही प्वालबाट हात छिराएर चुक्कुल त खोलिएन ? तर, यी शंकाहरू निवारण भइसकेको प्रहरीको दावी छ । पूर्वराजदूत झाकी छोरी राजश्री पहिल्यैदेखि विदेशमा रहँदै आएकी छन् । सँगै बस्ने छोरा–बुहारी उनी मारिनु अघिल्लो दिन विदेश हिँडेका थिए ।

टिप्पणीहरू