​घुम्दै, उपलब्धि गुम्दै

सरकारले वैदेशिक भ्रमण व्यवस्थापिका निर्देशिका ०७५ जारी ग¥यो । तर, यो निर्देशिकाले निमुखा कर्मचारीलाई कडाइ गरे पनि गजेन्द्र ठाकुरजस्ता सचिव र उपेन्द्र यादवजस्ता मन्त्रीलाई त्यसले केही लछारेन ।

क्याबिनेटको स्वीकीतिबेगरै खानेपानी सचिव बेलायततिर उडेझैं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि अनेक कार्यक्रमको बहाना बनाएर स्वदेशमा भन्दा विदेशतिर समय व्यतित गर्न थालेका छन् । उनी मन्त्रालय सम्हालेको पाँच महिनामा सातपटक विदेश उडे । छोरासहित अमेरिकातिर उड्न लाग्दा एयरपोर्टमै लफडासमेत आइलागेको छ । त्यही कारण होला स्वास्थ्य मन्त्रालयका कर्मचारीले ‘डुलुवा मन्त्री’ नाम दिएका छन् । उनले मन्त्रालय सम्हालेको जेठ १८ मा । त्यसयता हरेक महिना एक पटक विदेश पुग्छन् र उतै १० देखि १५ दिन हराउँदै आएका छन् । मन्त्री भएपछि साउन ९ मा थाइल्यान्ड पुगे । त्यहाँ महिडोल विश्वविद्यालयले आयोजना गरेको कार्यक्रम थियो ।

त्यसको एक महिनापछि फेरि भियतनाम उडे । भदौ ११ मा त्यता पुगेका उनी स्वदेश फर्किएलगत्तै १८ गते विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन भारत पुगे । संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रमका लागि विदेश उड्दै थिए । तर, भिसा नपाएपछि सहभागी हुन सकेनन् । दसैंअघि एक कार्यक्रमका लागि बेलायत हुँदै जेनेभा पुगेर नेपाल फर्किएका उनी तिहार सकिनेबित्तिकै कतारतिर निस्किए । मेडिसिटी अस्पतालका साहुजी तथा अर्बपति उपेन्द्र महतोलाई अगाडि लगाएर डा.रोशन पोखरेल, डा. सुरेश सुवेदी, रोशनीलक्ष्मी तुइतुइसहित कतार पुगेका उनी चार दिनपछि स्वदेश फर्कनेछन् । दसैं सकिएयता मात्र उनका ४ वटा वैदेशिक भ्रमण गरिसकेका छन् । आगामी मंसिर २६ र २७ गते (डिसेम्बर १२ र १३) भारतमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा तय भइसकेको छ ।

टिप्पणीहरू