कम्युनिस्ट पार्टीको महाधिवेशनमा यो कस्तो क्रमभङ्गता ?

कम्युनिस्ट पार्टीको महाधिवेशनमा यो कस्तो क्रमभङ्गता ?

नेकपा एमाले मुलुककै सबैभन्दा ठूलो दल । उसले आफूलाई वाम आन्दोलनको मूलधार पनि दावी गर्ने गर्छ । त्यहि पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हिजोदेखि चितवनमा जारी छ ।

देशकै ठूलाे राजनीतिक पार्टी र कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भनिएको एमाले महाधिवेशनको उद्दघाटन समारोहमा केही अस्वभाविक कुरा देखिए । उद्घाटन समारोहमा एमाले नेताहरुले वैचारिक विमर्श गरेनन् । बरु चुनावी प्रचारका लागि आयोजित आमसभामा जस्तै गरी अध्यक्ष केपी ओलीले फरक पार्टी र तिनका नेताको उछित्तो काढे । समारोहमा उपस्थित नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चर्को विरोध गरेका ओलीले मञ्चमा कुम जोडेर बसेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई घोचपेच गर्न भ्याए ।

रोचक पक्ष चैं,मार्क्सवादी विचारधाराका पिता कार्ल मार्क्सदेखि लेनिन,माओजस्ता कम्युनिष्ट आन्दोलनका विचारकहरु एमाले महाधिवेशनको आकर्षक बनेनन् । मञ्चमा न उनीहरुको तस्वीर देखियो,न वक्ताहरुले उनीहरुको चर्चा नै गरे । बरु अयोध्या,राम र हिन्दूधर्मको प्रचार गरियो । सदाझैं हिजो पनि अध्यक्ष ओलीले अयोध्यापुरीदेखि राम मन्दिरसम्मको चर्चा गर्न छुटाएनन् । उनले नारायणी किनारमा रामायणको कीर्तन पनि गाए । अनि गायत्री मन्त्रकाे पहिलाे लाइन जपेर सूर्य चिह्नको चुनावी महिमा वाचन गरे ।

“कुनैबेला एमालेलाई हरियो घाँसभित्र लुकेको सर्प भनेर कठोर आलोचना गर्ने रामबहादुर थापा बादलले जबजको ब्याख्या गरे ।”

देशकै ठूलो कम्युनिष्ट पार्टीको महाधिवेशनमा अन्तराष्ट्रिय कम्युनिष्ट गीत बजाइएन । बरु, साजसज्जा र आधुनिक प्रविधिलाई बढीभन्दा बढी उपयोग गर्न खोजिएको उद्घाटन समारोहमा रेशम फिलिली टाइपका गीतमा युवा युवतीहरुले कम्मर मर्काए । अध्यक्ष ओलीको प्रशंसा समेटिएको लामो वृत्तचित्र देखाइयो । तर,मार्क्स,एंगेल्स, लेनिन,माओ र मदन भण्डारीका योगदानको सामान्य चर्चा पनि सुनिएन ।

त्यतिमात्रै हो र, कम्युनिष्ट पार्टीका अध्यक्षले लाखौँ (उनीहरुकै दावी अनुसार) कार्यकर्तालाई सम्बोधन गर्दा ‘लालसलाम’ वा ‘अभिवादन शब्द’ समेत प्रयोग गरेनन् । दौरा सुरुवालमा सजिएर ओलीले कुनैबेलाका गिरिजाप्रसाद कोइराला शैलीमा हात हल्लाउँदै उपस्थित भीडलाई स्वागत गरे ।

अझ उदेकलाग्दो कुरा,दक्षिण एशियाली विभिन्न देशका दर्जनौँ प्रतिनिधिलाई सहभागी गराइएको महाधिवेशनमा नजिकैको छिमेकी चीनका कोही प्रतिनिधि देखिएनन् । दक्षिणतिरको छिमेकी भारतदेखि बंगलादेशलगायत अन्य कतिपय मुलुकका नेताहरुले सहभागिता जनाएको महाधिवेशन चिनियाँ कम्युनिष्ट पार्टीको प्राथमिकतामा नपरेको देखियो । तर,हिन्दूवादी पार्टीको पहिचान बनाएको भारतीय जनता पार्टी (भाजपा)का दुई जना केन्द्रीयस्तरका नेताको नाम भने मञ्चबाट धेरैचोटी उच्चारण गरेको सुनियो ।

“देशकै ठूलो कम्युनिष्ट पार्टीको महाधिवेशनमा अन्तराष्ट्रिय कम्युनिष्ट गीत बजाइएन । बरु, साजसज्जा र आधुनिक प्रविधिलाई बढीभन्दा बढी उपयोग गर्न खोजिएको उद्घाटन समारोहमा रेशम फिलिली टाइपका गीतमा युवा युवतीहरुले कम्मर मर्काए । अध्यक्ष ओलीको प्रशंसा समेटिएको लामो वृत्तचित्र देखाइयो । तर,मार्क्स,एंगेल्स, लेनिन,माओ र मदन भण्डारीका योगदानको सामान्य चर्चा पनि सुनिएन ।”

अधिवेशनको उद्घाटनमा राजावादी कमल थापादेखि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासम्मले सम्बोधन गरे । तर,दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नारायणीको तीरमा देखिएनन् । कुनैबेला एउटै पार्टीमा बसेर काम गरेका प्रचण्ड र माधव नदेखिएको उद्घाटन समारोहमा कमल थापाले भने ओलीको मुक्तकण्ठले प्रशंसा गरे ।

एमाले महाधिवेशनमा चर्चा गर्न लायक अर्को पनि उल्टो देखियो । कुनैबेला एमालेलाई हरियो घाँसभित्र लुकेको सर्प भनेर कठोर आलोचना गर्ने रामबहादुर थापा बादलले जबजको ब्याख्या गरे । स्वयं एमाले कार्यकर्ताले नै अप्ठेरो मान्ने गरी थापाले जबज र मदनको प्रशंसा गरे । त्यतिमात्रै हो र,अलि अगाडिसम्म आफूलाई भौतिकवादी कम्युनिष्ट दावी गर्ने उनले अध्यक्ष ओलीले झैँ राम र अयोध्याको चर्चा गर्न पनि छुटाएनन् ।

टिप्पणीहरू