सिमेण्ट उद्योगको खानी बन्द गर्न वडाध्यक्षको माग

सिमेण्ट उद्योगको खानी बन्द गर्न वडाध्यक्षको माग

गत वर्षदेखि हेटौँडाबाट उत्पादन शुरु भएको रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी क्षेत्रमा देखिएको विवादले उग्ररुप लिएको छ । राक्सिराङ गाउँपालिका ४ गिङ्गुस्थित खानी क्षेत्रमा पछिल्ला गतिबिधिका कारण सर्वसाधारणको समेत ज्यान जान सक्ने अवस्था सिर्जना भएकाले खानीसम्बन्धी सबै काम कारबाही बन्द गरी वातावरण सहज बनाउन वडाध्यक्ष सञ्जय कोइरालाले माग गर्नुभएको छ ।

आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसमक्ष ध्यानाकर्षणपत्र पेश गर्दै वडाध्यक्ष कोइरालाले पाँच बुँदामा गम्भीर हुन आग्रह गर्नुभएको छ । उहाँले स्थानीय स्तरमा शान्तिपूर्ण वातावरण सिर्जना नभएको, स्थानीय युवा र व्यवसायीहरुबीच आपसी झैझगडा र द्वन्द्व सिर्जना गराइएको भन्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र पेश गरिएको हो । उहाँले समस्याको हल नभएसम्म खानी सम्बन्धी कुनै पनि गतिबिधि सञ्चालन गर्न नदिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग गर्नु भएको हो ।

वडाध्यक्ष कोइरालाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गर्नुभएको ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरु बसेर मनहरी–चैनपुर–रतुवा–खैराङ हुँदै कैलाश गाउँपालिकासम्म अस्थायी बाटो निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई आग्रह गर्ने भनिएको विषयलाई उठाइएको छ । उहाँले त्यतिबेला बाटो निर्माण गरिँदा वातावरणीय प्रभाव मूल्याङ्कन नभएको स्थान अर्थात् सिमेन्ट उद्योगको खानी क्षेत्रमा समेत कार्य अघि बढेकाले तत्काल ती सबै कार्य बन्द गर्न आग्रह गर्नुभएको छ ।

स्थानीय सल्लाघारी सामुदायिक वन क्षेत्रमा पर्ने साढे चार किलोमिटर लामो उक्त सडक निर्माण गर्दा यसअघि सामुदायिक वनका पदाधिकारीहरुले वन सम्बन्धी मुद्दा बोक्न बाध्य भएको घटना वडाध्यक्ष कोइरालाले स्मरण गराउनुभएको छ । उहाँले गत कात्तिक २८ गतेका दिन सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेको मोतीदान कन्स्ट्रक्सनको प्र–०३–०१–००३ नम्बरको एस्काभेटरमा आगजनी गरी ध्वस्त पारिएको र अन्य दुई वटामा क्षति पुर्याइएको घटनाले स्थनीय वासिन्दा त्रसित रहेको उल्लेख गर्नुभएको छ । साथै उक्त घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न समेत वडाध्यक्षले माग गर्नुभएको छ ।

खानी सञ्चालन गर्नुअघि स्थानीय वासिन्दा, जनप्रतिनिधि, व्यवसायी, खानी सञ्चालक र सरोकारवालाहरुबीच पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नहुँदा उत्खनन्कर्ता कम्पनीहरु बानियाँ निर्माण सेवा र मोतीदान कन्स्ट्रक्सन प्रा.लि.ले स्थानीय व्यवसायीहरुलाई पाखा लगाउने, समन्वय नगर्ने र बलजफ्ती प्रहरी र प्रशासन प्रयोग गरी काम लगाउने शैली अपनाएको वडाध्यक्ष कोइरालाको ध्यानाकर्षणपत्रमा आरोप लगाइएको छ । सोही कारण स्थानीय व्यवसायीहरुबीच झडप, कुटपिट, भागदौड र मुद्दामामिला बढी हुने गरेको उहाँको ठहर छ ।

पछिल्लो असहज वातावरण भइरहँदा मानवीय क्षति समेत हुन सक्ने अवस्था देखिएकाले तत्काल स्थानीय वासिन्दाको माग सम्बोधन गर्न र यसअघिको सहमति तथा सम्झौताको कार्यान्वयनका लागि पहल गरिदिन वडाध्यक्ष कोइरालाले माग गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरुको बैठकले मनहरीदेखि खैराङसम्म बाटो बनाउने निर्णय भएअनुसार सो क्रममा जैविक विविधतामा असर परेको, खोलाको बहावलाई परिवर्तन गरी कुलो बनाईंदा जैविक विविधता र वातावरणमा असर परेकाले सोको सुधारका लागि समेत माग गरिएको छ ।

टिप्पणीहरू