एमाले महाधिवेशन : ‘१० भाइ समूह’ आउट,दुर्गा प्रसाई र बालकृष्ण ढुंगेल इन

एमाले महाधिवेशन : ‘१० भाइ समूह’ आउट,दुर्गा प्रसाई र बालकृष्ण ढुंगेल इन

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा भूगोलबाट बढारिएको पूर्वमाओवादी र ‘१० भाइ’ समूह मनोनित कोटामा झन कमजोर बनेको छ । १०६ जना मनोनित हुँदा यी दुई समूहबाट पाँच प्रतिशतको हाराहारीमा प्रतिनिधि छानिएका छन् ।

एमालेमा निर्वाचित भएर आउने बाहेक ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । सोहीअनुसार अस्ति बसेको स्थायी कमिटी बैठकले १०६ जना प्रतिनिधि मनोनयन गरेको हो । मनोनित हुनेहरुमा ९५ प्रतिशतभन्दा बढी अध्यक्ष केपी ओलीलाई ‘आई लभ यु केपी बा’ भन्नेहरु छन् । बाँकी पाँच प्रतिशतमा पनि पूर्वमाओवादी समूहले बढी पाएको छ ।

मनोनित हुनेहरुमा सबैभन्दा बढी बागमती प्रदेशका छन् । बागमतीबाट २६ जना मनोनित हुँदा लुम्बिनीबाट २० र १ नम्बर प्रदेशबाट १७ जना परेका छन् । त्यस्तै, २ नम्बर प्रदेशबाट ८, गण्डकीबाट १५, कर्णालीबाट ७ र सुदूरपश्चिमबाट १२ जना मनोनित भएका छन् । बेलायत र कतारबाट १-१ जना मनोनयनमा परेका छन् ।

“बागमतीबाट २६ जना मनोनित हुँदा लुम्बिनीबाट २० र १ नम्बर प्रदेशबाट १७ जना परेका छन् । त्यस्तै, २ नम्बर प्रदेशबाट ८, गण्डकीबाट १५, कर्णालीबाट ७ र सुदूरपश्चिमबाट १२ जना मनोनित भएका छन् । बेलायत र कतारबाट १-१ जना मनोनयनमा परेका छन् । “

नेकपा एमालेले यसअघि नै १९ सय ९९ प्रतिनिधि चयन गरेको थियो । अपवादबाहेक देशभर सर्वसम्मतिमा प्रतिनिधि चयन हुँदा पूर्वमाओवादी र ‘१० भाइ’ समूह ५ प्रतिशतमा खुम्चिएका थिए ।

मनोनित प्रतिनिधिमा केही विवादास्पद छविका पात्र पनि परेका छन् । तीमध्ये एक हुन् झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाई । एमाले र माओवादी केन्द्रको एकताका बेला ओली र प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं झापाको बिएन्डसी मेडिकल कलेज सञ्चालक हुन् । उनी विवादास्पद छविका मेडिकल व्यवसायीका रुपमा चिनिन्छन् ।

प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि घुस मागेको आरोप लगाएपछि विवादमा तानिएका थिए । गिरीले उनीविरुद्ध अदालतमा रिट हालेपछि केही समय फरारसमेत रहे । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले बीएण्डसीलाई सम्बन्धन दिन अस्वीकार गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई गुहार्दै प्रसाई सिंहदरबार र बालुवाटार चाहार्ने गरेको आरोप लागेको थियो । त्यतिबेलैदेखि ओलीसंग विश्वासिलो सम्बन्ध बनाएका उनी हालसालै एमालेमा छिरेका हुन् ।

अर्का पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल पनि प्रतिनिधि मनोनित भएका छन् । नेकपा विभाजनपछि एमालेमा लागेका ढुंगेलमाथि जनयुद्धका बेला व्यक्ति हत्याको आरोप लागेको थियो । उनीविरुद्धको मुद्दामा सर्वोच्चले दोषी ठहर गरेपछि जेल सजाय पाएका थिए । गणतन्त्र दिवसका अवसरमा २०७५ जेठ १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि ढुंगेल जेलमुक्त भएका थिए ।

टिप्पणीहरू