धादिङमा देउवालाई निराशा, पौडेललाई उल्लास

धादिङमा देउवालाई निराशा, पौडेललाई उल्लास

-शंकर श्रेष्ठ

नेपाली कांग्रेस धादिङको १४औं अधिवेशनमा पौडेल पक्ष बलियो देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको नतिजाले देउवा पक्षलाई निराश बनाएको छ ।

धादिङमा पूर्व जिल्ला रामनाथ अधिकारीले पौडेल पक्षको र नेता भीमप्रसाद ढुंगानाले देउवा पक्षको नेतृत्व गर्दै आएका छन् । जिल्लामा रहेका २ प्रतिनिधिसभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा पौडेल पक्षका रामनाथ प्यानल नै विजयी भएको छ ।

प्रदेशसभा १ ‘क’ र ‘ख’ मा पनि पौडेल समूहकै रामनाथ प्यानलले बाजी मारेको छ । यो क्षेत्रमा भीमप्रसाद र रामनाथ दुबैले आ–आफ्नो मत बलियो भएको दावी गर्दै आएका थिए ।

क्षेत्र नम्बर १ मा पौडेल समूहको प्यानल नै विजयी भएपछि निराश बनेका देउवा समूहका भीमप्रसाद प्यानलले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पनि सोचेजस्तो मत पाएन ।

प्रतिनिधिसभा २ मा भीमप्रसाद प्यानलबाट दिपक कोइराला र रामनाथ प्यानलबाट राकेश धमलाबीच चुनावी प्रतिस्पर्धामा रामनाथ प्यानलकै उम्मेदवारले सभापतिसहित अधिकांश पदमा जितेपछि जिल्लामा भीमप्रसाद प्यानल कमजोर ठहरिएको छ ।

प्रदेशसभा २ ‘क’ रामनाथ प्यानलका होमबहादुर गुरुङले जितेका छन् भने प्रदेशसभा २ ‘ख’ मा भीमप्रसाद प्यानलका रणबहादुर तामाङ सभापतिमा निर्वाचित भएका छन् । यो दुबै क्षेत्रमा प्यानल विजयी नभएपनि पदाधिकारीसहित सदस्यहरु रामनाथ प्यानलबाटै धेरै विजयी भएका छन् ।

भीमप्रसाद प्यानलबाट सभापति जितेको प्रदेशसभा १ ‘ख’ मा पनि अन्य पदाधिकारी र सदस्य पदमा रामनाथ प्यानलकै वर्चश्व देखिएको छ । यो प्रदेशसभामा पनि भीमप्रसाद प्यानलले आ–आफ्नो मत बलियो भएको दावी गर्दै आएका थिए ।

भीमप्रसादले आफ्नो पकड मान्दै आएको प्रदेशसभा १ ‘क’ मा पनि रामनाथले नै बाजी मारेपछि भीमप्रसाद प्यानलमा झनै निराशा छाएको बुझिन्छ । क्षेत्र र प्रदेशको नतिजालाई विश्लेषण गर्ने हो भने जिल्ला सभापतिमा रामनाथ अधिकारीसँगको लडाई भीमप्रसाद ढुंगानालाई फलामको चिउरा बन्ने देखिएको छ ।

कांग्रेस धादिङको जिल्ला अधिवेशन मंसिर १० गतेबाट शुरु हुँदैछ । मंसिर १० गते मनोनयन गर्दा र ११ मंसिर गते मतदान हुने कांग्रेसले जनाएको छ । धादिङमा २१९७ प्रतिनिधि (मतदाता) छन् ।

प्रतिनिधिहरु कसको कति ?

नेपाली कांग्रेस धादिङबाट ५० जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् । त्यसमा पनि ४१ जनाले रामनाथ प्यानलबाट नै चुनाव जितेका छन् भने भीमप्रसाद प्यानलबाट ९ जनाले मात्रै जितेका छन् । २ जना क्षेत्रीय सभापतिसहित केन्द्रिय महाधिवेशनमा ५२ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रदेशसभामा चुनिएका ६८ जना प्रतिनिधि पनि रामनाथ प्यानलकै धेरै विजयी छन् । ४ जना क्षेत्रीय सभापतिसहित ७२ जनाले प्रदेशसभामा भाग लिनेछन् ।

टिप्पणीहरू