भारतले हिन्दीमा,नेपालले नेपालीमा

भारतले हिन्दीमा,नेपालले नेपालीमा

नेपालसँग सहज र नजिकको सम्बन्ध भएको छिमेकी भारतले कुरा मीठा गरे पनि व्यवहार नमीठो गर्ने गरेको छ । सीमावर्ती क्षेत्रमा भारतीय प्रशासनिक निकायदेखि उच्च राजनीतिक तहसम्मले नेपालसँगको मित्रता र घनिष्ठताबारे सँधै मीठा कुरा गर्छन् । तर नेपाल र नेपालीसँगको व्यवहार भने सँधै नमीठो र तल्लोस्तरमा हुने गरेको पाइन्छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत शनिबार दार्चुलाको सीमावर्ती पिथौरागढ जिल्ला भ्रमण गरेका छन् । सदरमुकामको झौलखेत मैदानको खुला कार्यक्रममा सिंहले ‘नेपालसँगको सम्बन्ध खराब हुन नदिने’ उद्घोष गरेका हुन् ।

सीमाक्षेत्रमा हुने भेटघाट,छलफल,बैठक र पत्राचारहरुमा भारतीय पक्षले नेपाली पक्षलाई सम्मान नगरेको दार्चुलास्थित एक सुरक्षा अधिकारी नै बताउँछन् ।

भारतको उत्तराखण्ड सरकारले सञ्चालन गरेको शहीद सम्मान यात्राको उद्घाटन गर्न पहिलो पटक पिथौरागढ पुगेका रक्षामन्त्री सिंहले सम्बोधनमा नेपाल र भारतबीचको सम्बन्धलाई महत्व दिएका छन् । ‘पडोसी देश नेपाल से हमारे रोटी-बेटी के सम्बन्ध है । कुछ बाहरी शक्तियाँ नेपाल और भारत के सम्बन्ध खराब करने कि कोशिस कर रहे हैं’ भारतीय रक्षामन्त्री सिंहले पिथौरागढको कार्यक्रममा भनेका छन् ।

त्यस अवसरमा उनले ‘दुई देशको सम्बन्ध खराब गर्ने षड्यन्त्रलाई सफल हुन नदिने’ बताए । नेपाल सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरेपछि दुई वर्षअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको बताएका थिए । त्यसलगत्तै देहरादूनमा आयोजित एउटा कार्यक्रममा उनै रक्षामन्त्री सिंहले सेना प्रमुखको भनाईलाई सच्याए । त्यतिबेला पनि उनले नेपालसँग भारतको गहिरो र आत्मीय सम्बन्ध भएको बताएका थिए ।

भारतीय पक्षले बोलीमा नेपाल र नेपालीलाई फकाउने गरेको छ । नेपाल र नेपालीप्रति सँधै सकारात्मक र राम्रा कुरा हुने गर्छ । तर व्यवहार भने ठीक उल्टो । सीमाक्षेत्रमा हुने दैनिक भेटघाट र सम्पर्कदेखि कूटनीतिक तहबाट हुने सम्पर्क,समन्वयमा पनि नेपाली पक्षसँग मीठो व्यवहार नभएको बताइन्छ ।

‘जुनसुकै विषयमा पनि भारतीय पक्षले आफूलाई माथि देखाउन खोज्छ । आफूतर्फको कमजोरी कहिल्यै स्वीकार्दैन । नेपाल सार्वभौम सम्पन्न देश भए पनि उसले हिन्दी भाषामा पत्राचार गर्दै आएको छ,’

तुइन प्रकरणमा मारिएका जयसिंह धामी होउन् वा कालापानी र सुस्तालगायतको सीमा अतिक्रमणको विषयमा वार्ता गर्ने विषय होस् सबैजसो विषयमा भारतीय पक्षले नेपालसँग सम्मानजनक व्यवहार गरेको देखिँदैन । सीमाक्षेत्रमा दुई देशको प्रशासनिक संयन्त्रबीच समन्वय र सम्पर्क भइरहन्छ तर नेपाली प्रशासनले कहिल्यै पनि भारतीय पक्षबाट राम्रो व्यवहारको अनुभव गर्न पाएको छैन । सीमाक्षेत्रमा हुने भेटघाट,छलफल,बैठक र पत्राचारहरुमा भारतीय पक्षले नेपाली पक्षलाई सम्मान नगरेको दार्चुलास्थित एक सुरक्षा अधिकारी नै बताउँछन् ।

‘भारतको पिथौरागढ प्रशासनसँग धेरै पटक धेरै विषयमा छलफल र पत्राचार भएका छन्,तर जहिले पनि भारतीय पक्षको व्यवहार हेपाहा रहँदै आएको छ,’ ती सुरक्षा अधिकारीले भनेका छन् । कोरोना संक्रमणको समयमा नाका खोल्ने विषयमा पनि नेपाली पक्षसँग भारतीय प्रशासनले अमिल्दो व्यवहार देखाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका एक कर्मचारीको अनुभव छ ।

‘जुनसुकै विषयमा पनि भारतीय पक्षले आफूलाई माथि देखाउन खोज्छ । आफूतर्फको कमजोरी कहिल्यै स्वीकार्दैन । नेपाल सार्वभौम सम्पन्न देश भए पनि उसले हिन्दी भाषामा पत्राचार गर्दै आएको छ,’ ती कर्मचारीको अनुभव हो यो । ‘भारतले हिन्दी भाषामा पत्राचार गरेपछि नेपाली प्रशासनले पनि नेपाली भाषामा पत्राचार गर्दै आएको छ, ’ उनले भने ।

भेटघाट,सम्पर्क र बैठकमा भारतीय पक्षले बोली र कुराकानी भने मीठो गर्ने गरेको सरकारी अधिकारीहरु बताउँछन् । ‘दुई देशबीचको आपसी सम्बन्ध, जनस्तरको सम्बन्ध,सांस्कृतिक सम्बन्ध आदिलाई देखाउँदै मीठा कुरा गरिन्छन् तर व्यवहार सँधै उल्टो हुन्छ’ उनीहरुको अनुभव छ ।

टिप्पणीहरू