बसेन फुलकोर्ट, गोलाप्रथाबाट पेसी तोक्ने मिति धकेलियो

बसेन फुलकोर्ट, गोलाप्रथाबाट पेसी तोक्ने मिति धकेलियो

सर्वोच्च अदालतमा आज डाकिएको फुलकोर्ट बैठक बस्न सकेन । सर्वोच्च प्रशासनले आजका लागि डाकिएको बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा अनुपस्थित भएको कारण स्थगित भएको बताएको छ ।

सर्वोच्च अदालतको यसअघिको फुलकोर्ट बैठकले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था पारित गरेपछि गत सोमबार उक्त व्यवस्था राजपत्रमा समेत प्रकाशित भएको छ । त्यसपछि उक्त संशोधित नियमावलीबमोजिम गोलाप्रथाको व्यवस्था कार्यान्वयन गर्ने मिति तय गर्र्न आज फुलकोर्ट बैठक डाकिएको थियो ।

आज अपरान्ह २ बजे डाकिएको फुलकोर्ट बैठकमा प्रधानन्यायधीश राणा अनुपस्थित भएपछि गोलाप्रथा लागू गर्ने मिति पनि केही पर सरेको छ । यो व्यवस्था लागु भएपछि पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार औपचारिक रुपमा कटौती हुनेछ ।

सर्वोच्च अदालत स्रोतका अनुसार आइतबारदेखि प्रधानन्यायीश राणा सर्वोच्च छिर्नुभएको छैन । यसबीचमा उहाँले मुद्दाको पेसीसमेत बालुवाटारबाटै तोक्नुभएको छ । त्यहि कारण पछिल्ला चार दिनदेखि प्रधानन्यायाधीश राणाले आफू बाहेकको इजलास तोक्दै आउनुभएको हो । आज उहाँले नौ वटा संयुक्त र एउटा एकल इजलास तोक्नुभएको थियो । तर आफ्नो लागि कुनै पनि इजलास तोक्नुभएको थिएन ।

यसैबीच सर्वोच्चका अन्य न्यायाधीशहरुबीच भर्खरै प्रधानन्यायाधीश राणाबाहेकको फुलकोर्ट बैठक राख्नेबारे छलफल गरेको बुुझिएको छ । राणा अदालत नआउनुभएको अवस्थामा आफूहरुले अघिल्लो साता गरेको निर्णयझैँ यस पटक पनि गोलाप्रथाको मिति तोकेर प्रधानन्यायाधीशसमक्ष दस्तखत गराउने सम्बन्धमा छलफल भएको एक जना न्यायाधीशलाई उद्धृत गर्दै स्रोतले बताएको छ ।

टिप्पणीहरू