प्रविधिसँग अधिकांश कर्मचारी परपर

प्रविधिसँग अधिकांश कर्मचारी परपर

एउटा सरकारी प्रतिवेदन भन्छ, झण्डै आधा कर्मचारी कम्प्युटर चलाउन र इमेल गर्नसमेत जान्दैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महिनौं लगाएर तयार पारेको र अस्ति सोमबार सार्वजनिक एक प्रतिवेदनले अधिकांश कर्मचारीमा सूचना प्रविधिसम्बन्धी ज्ञान अभाव रहेको तथ्य उजागर गरेको छ ।

प्रत्येक कर्मचारीले आफँै कम्प्युटर चलाउन जान्नुपर्ने नीति अख्तियार गरे पनि ५३ वटा स्थानीय तहका २५ प्रतिशतभन्दा कम कर्मचारीले मात्र युनिकोड टाइप गरी दैनिक कार्य सम्पादन गर्न सक्छन् । ८४ पृष्ठ लामो सो प्रतिवेदनअनुसार १३८ वटा स्थानीय तहका २५ देखि ५० प्रतिशत कर्मचारीले युनिकोड टाइप गरी कार्यसम्पादन गर्न सक्छन् भने झण्डै आधा कर्मचारी युनिकोड टाइप गर्न पनि जान्दैनन् ।

प्रतिवेदनको २९ औं पृष्ठमा युनिकोड प्रयोग गर्न सक्ने वा नसक्ने कर्मचारीको तथ्यांक छ । २४३ वटा स्थानीय तहका ५० प्रतिशतभन्दा बढी कर्मचारी युनिकोड टाइप गरी कार्यसम्पादन गर्न सक्ने विवरण समावेश गरिएको छ । १७८ वटा स्थानीय तहमा कार्यरत २५ प्रतिशतभन्दा कम कर्मचारीले मात्र इमेल प्रयोग गर्न सक्छन् । यस्तै, ११८ वटा स्थानीय तहमा कार्यरत २५ देखि ५० प्रतिशत र १३८ वटा स्थानीय तहमा कार्यरत ५० भन्दा बढी कर्मचारीले इमेल प्रयोग गर्न सक्ने सो प्रतिवेदनमा औँल्याइएको छ ।

७५३ स्थानीय तहमध्ये चार सय ३४ पालिकामा गरिएको अध्ययनले यस्तो स्थिति देखाएको हो । जसमध्ये ९० दशमलव ३२ प्रतिशत पालिकाका कर्मचारीसँग सूचना प्रविधिको ज्ञान नै छैन । ४३४ पालिकामध्ये १० पालिकामा सूचना प्रविधिसम्बन्धी जनशक्ति नभएको, ३२ वटा पालिकामा एक जना कम्प्युटर इञ्जिनियर र एकभन्दा बढी सूचना प्रविधि अधिकृत कार्यरत रहेको, ३९२ वटा स्थानीय तहमा अधिकृत स्तरका दुई जना सूचना प्रविधि अधिकृत कार्यरत रहेको तथ्यांकमा उल्लेख छ । अध्ययन भएकामध्ये ६ वटा पालिकामा सूचना प्रविधिसम्बन्धी न्यूनतम शैक्षिक योग्यतासमेत नभएका कर्मचारी रहेको र तीन सय ६५ पालिकामा यसतर्फ न्यूनतम शैक्षिक योग्यता मात्रै रहेको भेटिएको छ ।

यस्तै, सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिमध्ये कम्तीमा एक जनाको एक वर्षको अनुभव रहेको पालिकाको संख्या एक सय ४७ छ । दक्ष जनशक्ति सबैको दुई वर्षभन्दा धेरै अनुभव हुने पालिकाको संख्या दुई सय ५५ हुँदा सूचना प्रविधि प्रयोगको सवालमा हामी कहाँ र कुन स्थानमा छौँ प्रष्ट हुन्छ ।

टिप्पणीहरू