शिक्षामन्त्रीको आफ्नै कार्ययोजना

शिक्षामन्त्रीको आफ्नै कार्ययोजना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ३१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । मन्त्री पौडेलले आज सार्वजनिक गर्नुभएको कार्ययोजनाको पहिलो बुँदामा विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भए वा नभएको अनुगमन गर्ने र सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने उहाँले कार्ययोजनामा बताउनुभएको छ । सिक्दै कमाउँदै कार्यक्रमलाई समेत प्रभावकारी बनाउने मन्त्री पौडेलको कार्ययोजनामा समेटिएको छ ।

स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अघि बढाइने, समयमै सबै सेट पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने, संघीय शिक्षा ऐनको मस्यौदामाथि सरोकारवालासँग छलफल गरेर अगाडि बढाउने कार्ययोजना पनि मन्त्रीले अघि सार्नुभएको छ ।

हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय पु¥याउने उहाँको कार्ययोजनामा लेखिएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने कार्यलाई अघि बढाउँदै कसैलाई पनि पढ्ने अवसरबाट वञ्चित हुन नपर्ने स्थितिको सिर्जना गर्ने मन्त्रीले दाबी गर्नुभएको छ ।

शिक्षामा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित अनलाइन शिक्षा पोर्टलमा गुणस्तरीय सामग्री समावेश गर्ने र दलित एवम् पिछडिएका वर्गको शिक्षामा पहुँच वृद्धि गर्न कदम चालिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रीको कार्ययोजनामा समेटिएका सबै विषय राम्रा भए पनि आवश्यक बजेको अभावमा ती सबै कोरा कागजमा सीमित हुने वास्तविकता पनि ज्युँको त्युँ छ । आवश्यक बजेटको प्रबन्ध नगरी प्रस्तुत गरिने महत्वाकांक्षी कार्ययोजनाको कुनै तुक नदेखिएको शिक्षाविद्हरु बताउँछन् ।

टिप्पणीहरू