​सुन राखेर नमान्नोस् हाइसञ्चो

सुन बैंकमा राखेको छ भन्दैमा ढुक्क नहुनुस्, बद्मासहरू सल्बलाइरहेका छन् । सुन धितो राखेर बैंकले पैसा दियो, पछि हेर्दा त सुन गायव ! सिटिजन बैंकको न्युरोड शाखामा यस्तो देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

त्यहाँ कार्यरत सुन जाँचकी र सुन ऋणीको मिलेमतोमा यस्तो हुँदोरहेछ । धितोमा राखेको सुनको ऋण चुक्ता नहुँदै ऋणीले फिर्ता लैजानेसम्मको घटना भयो । यस्तो हुँदा बैंकको लकरमा सात हजार चार सय ९७ दशमलव २८ ग्राम कम भेटियो । यसबाट बैंकलाई दुई करोड २८ लाख ३८ हजार एक सय रुपैयाँ ५२ पैसा नोक्सान भयो । यस्तो काम पक्कै पनि सुन जाँचकीबाटै भएको हुनुपर्ने अनुमान थियो । त्यही आधारमा उजुर भयो । प्रहरीले बांगेमूढाका सुन जाँचकी सामिन शाक्य, भक्तपुर इताछेका विन्देश शाक्यलाई समात्यो । यी २६ र २७ वर्षका केटाहरूले आफूहरूलाई सुन धितोमा राखी ऋण लगेका ग्राहकले सिकाएर यस्तो गरेको प्रहरीलाई बताए । सिकाउने रहेछन्, मोरङ, शनिश्चरे घर भई पुरानो बानेश्वर बस्ने ४५ वर्षीय लभ बराइली र संखुवासभा, चैनपुर घर भई नीलोपुल बस्ने उमेशराज बराइली । प्रहरीले यस्तो धन्दा सिकाउने ती दुईलाई पनि पक्राउ गरेको छ । तीसँगै प्राइम बैंकको गोल्ड अडिट डिपार्टमेन्टमा कार्यरत भक्तपुर, इटापाका ३३ वर्षीय अमितराज बज्राचार्यको पनि मिलेमतो रहेको प्रहरीले जनाएको छ ।

नक्कली एटिएम कार्डबाट रकम ठगी गर्ने गिरोह हराएको थियो । तर, फेरि पोस (पोइन्ट अफ सेल) मेसिनमा नक्कली कार्ड घुसाएर ठगी गर्ने क्रम बढेको छ । आयात÷निर्यातसम्बन्धी व्यवसाय गर्ने भनी नुवाकोट सदरमुकाम विदुरका प्रदीप न्यौपानेले डिएमके इम्पोर्टस् एण्ड एक्स्पोर्ट नामक कम्पनी खोले । धेरै रकमको कारोबार गर्ने व्यवसायिक ग्राहकलाई बैंकले पोस मेसिन दिने गर्दछ । ताकि, त्यस्ता ग्राहकले हातमा नगदै बोकेर बस्नु नपरोस्, चाहिएको बेलामा डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम निकाल्न सकुन् ।

प्रदीपले त्यही प्रयोजन देखाउँदै सनराइज बैंकबाट पोस मेसिन लिए । पोस मेसिनबाट उनी राति ८ बजेपछि मात्र कारोबार गर्थे, ताकि त्यो समयमा अरु ग्राहक नहुन् । असार २२ देखि भदौ ५ गतेसम्म एक सय ६३ पटकको प्रयासमा एक करोड दुई लाख १९ हजार ६ सय ४८ रुपैयाँको अनसक्सेस ट्रान्जेक्सन भएको छ । त्यही अवधीमा गरेको प्रयासले २२ लाख ७७ हजार चार सय ५२ रुपैयाँ सक्सेसफुल ट्रान्जेक्सन भएको छ । उनले कार्डबाट रकमको कारोबार गर्दा विदेशी नगारिकको पासपोर्टलाई आइडीका रुपमा प्रयोग र पासपोर्टको कपीमा नक्कली हस्ताक्षर गर्ने गरेका थिए । रकमहरू आफ्नो नाममा दर्ता रहेको डिएमके कम्पनीको खातामा जम्मा गरेर त्यहाँबाट नगद संकलन गर्थे ।

टिप्पणीहरू