चार महिनामा साढे ७ हजार बढी सवारी दुर्घटना, ९ सयको मृत्यु

चार महिनामा साढे ७ हजार बढी सवारी दुर्घटना, ९ सयको मृत्यु

पछिल्लो समय सवारी दुर्घटनाका घटना निकै बढेका छन् । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो चार महिनाको अवधिमा साढे सात हजारभन्दा बढि सवारी दुर्घटना भएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा मात्रै ७ हजार ७ सय ८३ सवारी साधन दुर्घटनामा परेको छ । उक्त तथ्याङ्कअनुसार सर्वाधिक दुर्घटना काठमाडौं महानगरभित्र भएका छन् । महानगरीय ट्राफिक कार्यालयका अनुसार पछिल्लो चार महिनामा ३ हजार ३ सय ६१ सवारी दुर्घटना भएका छन् । जसमा ५१ जनाले ज्यान गुमाउँदा ८५ जना गम्भीर घाइते भएको र २ हजार ६ सय ६० जना सामान्य घाइते भएका छन् । दुर्घटनामा दुई चौपायाको मृत्यु भएको छ भने तीन घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर १ मा १ हजार २ सय ८७ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर १ सय ६६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ३ सय ९८ गम्भीर घाइते हुँदा १ हजार ८ सय ६९ जना सामान्य घाइते भएका छन् । प्रदेशमा ४ वटा पशुचौपायाको दुर्घटनाबाट मृत्यु भएको छ ।
उता, प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा १ हजार ६ सय ९८ सवारी दुर्घटना भएका छन् । जसमा १ सय ९२ जनाले ज्यान गुमाउँदा ७ सय ६३ जना गम्भीर घाइते भएको र २ हजार ९८ जना सामान्य घाइते भएका छन् । दुर्घटना १२ चौपायाको मृत्यु भएको छ भने ५ घाइते छन् ।

बाग्मती प्रदेशमा ५ सय ८९ सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । जसअनुसार उक्त अवधीमा १ सय २३ जनाको मृत्यु भएको छ । बाग्मती प्रदेश ट्राफिक कार्यालयका अनुसार ३ सय १५ जना गम्भीर घाइते हुँदा १ हजार १७ जना सामान्य घाइते छन् ।

प्रदेश ट्राफिक कार्यालय बुटवलले दिएको तथ्याङ्कमा लुम्बिनी प्रदेशमा ४ सय ३ सवारी दुर्घटना भएको छ । पछिल्लो चार महिनामा प्रदेशमा १ सय ५३ जनाको मृत्यु भएको छ भने ३ सय ८१ जना सख्त घाइते छन् । तथ्याङ्कमा १ सय ७९ जना सामान्य घाइते भएको उल्लेख छ । प्रदेशमा सवारी दुर्घटनामा २२ चौपायाको मृत्यु भएको छ भने १९ घाइते छन् ।

त्यस्तै, सूदुरपश्चिम प्रदेशमा १ सय ८७ सवारी दुर्घटना हुँदा ४८ को मृत्यु भएको छ भने १ सय ४६ गम्भीर घाइते तथा १ सय ४१ सामान्य घाइते भएका छन् । दुर्घटनामा २२ चौपायाको मृत्यु हुँदा ४ घाइते भएको प्रहरीको विवरणमा उल्लेख छ ।
उक्त अवधिमा गण्डकी प्रदेशमा १ सय ३० सवारी दुर्घटना भएको छ । जसमा ६६ जनाको मृत्यु हुँदा १ सय ३० गम्भिर घाइते भएका छन् । १ सय १० जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा ३ चौपायाहरुको मृत्यु भएको छ ।

कर्णाली प्रदेशमा पनि १ सय २८ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ८७ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । घटनामा १ सय ६७ जना गम्भिर घाइते हुँदा १ सय ४२ को अवस्था भने सामान्य रहेको छ । दुर्घटनामा ४ चौपायाको मृत्यु हुँदा १ घाइते रहेको छ ।

कुल ७ हजार ७ सय ८३ सवारी दुर्घटना भएकोमा सर्वाधिक मोटरसाइकल रहेका छन् । दुर्घटना भएका सवारी मध्येको आधा भन्दाबढि मोटरसाइकल दुर्घटना भएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कमा ६ हजार ५ सय १८ मोटरसाइकल दुर्घटना भएको बताइएको छ । मोटरसाइकलपछि जीप तथा कार २ हजार ८ सय ८५ दुर्घटना भएको उल्लेख छ । चार महिनाको अवधिमा बढी दुर्घटनामा पर्ने सवारीमध्ये ट्रक तेस्रोमा परेको छ । उक्त अवधिमा ७ सय ६० ट्रक तथा टेकेर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेर कुल ८ सय ६८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा बढी पुरुष रहेका छन् । चार महिनाको अवधिमा ६ सय ५६ जना पुरुषले ज्यान गुमाउँदा १ सय ६८ महिला, ४८ बालक तथा १४ बालिकाको मृत्यु भएको छ । उक्त अवधिमा २ हजार ३ सय ८५ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १ हजार ६ सय ९ जना पुरुष, ४ सय ७१ जना महिला, २ सय बालक तथा १ सय ५ बालिका रहेका छन् ।

८ हजार २ सय १६ जना सामान्य घाइते हुँदा ५ हजार ६ सय ५४ जना पुरुष, १ हजार ८ सय २ महिला, ४ सय ६८ बालक तथा २ सय ९२ जना बालिका रहेको तथ्याङ्कमा उल्लेख छ । सवारी दुर्घटनामा ६९ पशुचौपायाको मृत्यु भएको र ३२ चौपाया घाइते रहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू