द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर : मानव अधिकार आयोग

द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर : मानव अधिकार आयोग

मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौताको पालना गरी द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायका सम्बन्धमा गठित आयोगहरुले संशोधित कानूनको अभावमा द्वन्द्वपीडितहरुलाई न्यायको अनुभूति हुन सक्ने गरी कार्य गर्न अझै सकेका छैनन् । द्वन्द्वपीडित र मानव अधिकारकर्मीहरुको पटक पटकको खबरदारीपछि पनि दण्डहीनताको अन्त्यको लागि सन्तोषजनक कार्य हुन नसक्नु चिन्ताको विषय भएको छ ।’आयोगले शान्ति प्रक्रियाको अनुगमन गर्नुका साथै द्वन्द्वसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान र सिफारिस गर्दै आएको उल्लेख गरेको छ । तर मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिन आयोगले गरेका सिफारिसमध्ये अधिकांश विगतको द्वन्द्वसँग सम्बन्धित भए तापनि तिनको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको बताएको छ ।

यस्तै आयोगको सिफारिस तथा सर्वोच्च अदालतको निर्णय अनुकूल हुने गरी संशोधन गर्न, द्वन्द्वपीडितहरुको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठहर गरेका मानवअधिकार उल्लंघनकर्ताहरुलाई कानूनबमोजिम कारवाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न आयोगले सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरेको छ ।

टिप्पणीहरू