मोरङमा देउवा पक्षको बेहाल

मोरङमा देउवा पक्षको बेहाल

– पूजा लम्साल

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हिजो सम्पन्न प्रदेशसभा निर्वाचन क्षेत्रको चुनावी परिणामले मोरङमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापक्ष निकै कमजोर रहेको प्रस्टयाएको छ ।

देउवापक्षले ५ नम्बर क्षेत्रको ‘क’ र ‘ख’ बाहेक कतै पनि सभापति जितेको छ्रैन गए राति सम्पन्न निर्वाचनको परिणामअनुसार काँग्रेस संस्थापन पक्षभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाका १२ प्रदेश निर्वाचन क्षेत्रमध्ये १० स्थानमा संस्थापन इतर समूहले नै बाजी मारेको छ ।

५ नम्बर क्षेत्रमा देउवा समूहले नेतृत्व पाउनुको कारण अर्कै छ । संस्थापन पक्षका केन्द्रीय सदस्य अमृत अर्यालको निर्वाचन क्षेत्र भएकाले त्यहाँ देउवा समूहले जितेको हो । अर्यालले आफनो पकड कायम राख्दै आफनै गुटका सबैलाई सभापति र पदाधिकारीमा सर्वसम्मत गराएका थिए ।
मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चार वटामा सर्वसम्मत भएको छ । बाँकी आठ वटामा चुनाव भएको हो । मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा क्षेत्र नम्बर २ ‘क’ मा कन्हैयालाल राजवंशी र ‘ख’ मा देवेन्द्र बस्नेत विजयी भएका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ ‘क’ मा गंगा याक्खा र ‘ख’ मा जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह विजयी भएका हुन् । क्षेत्र नम्बर ६ ‘क’ मा दिपक भगत र ‘ख’ मा मधुवाबु तिवारी विजयी भएका छन् ।

मोरङको हरेक निर्वाचन क्षेत्रबाट १६ जना गरेर जम्मा १ सय ९२ जना प्रदेश अधिवेशन प्रतिनिधि छानिएका छन् । उनीहरुले प्रदेश अधिवेशनबाट प्रदेश पदाधिकारी चयन गर्नेछन् ।

मोरङ काँग्रेसमा गाउँ र नगर पालिका निर्वाचनबाट ३ हजार ५ सय ५१ जना क्षेत्रीय प्रतिनिधि छानिएका थिए । छानिएकामध्ये ९९ प्रतिशतले क्षेत्रीय निर्वाचनमा मतदान गरेका छन् । आफ्ना उम्मेदवारहरु जिताउन मोरङमा केन्द्रीय नेता शेखर कोइराला, मन्त्री मिनेन्द्र रिजाल, महेश आचार्य, अमृत अर्यालदेखि, राष्ट्रिय सभा र प्रदेश सांसदहरु लागिपरेका थिए । एउटै गुटका उम्मेदवारबीच पनि सर्वसम्मति हुन नसकेपछि चुनाव गराउनुपरेको बताइन्छ ।

टिप्पणीहरू