चीनले फर्काउँदा चकित !

तीन वर्षअगाडि काठमाडौं विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस् इन्स्टिच्युटमार्फत चिनियाँ भाषामा स्नातक गर्नका लागि थुप्रै विद्यार्थीलाई छात्रवृत्ति दिइयो । नाम छात्रवृत्ति भए पनि कुस्त पैसा लिएर पढ्न पठाइयो । उक्त इन्स्टिच्युटसँग मिलेर थुप्रै नेपाली मालामाल भए । पहिलो वर्ष सय हाराहारीमा विद्यार्थी गएका थिए भने दोस्रो वर्ष झन् धेरै गए ।

चीन सरकारले छात्रवृत्ति दिए पनि नेपालमा चलखेल भएको कन्फ्युसियस् इन्स्टिच्युटले थाहा पायो । त्यही भएर तेस्रो अर्थात् गत वर्ष व्यापक रूपमा छात्रवृत्ति कटौती ग¥यो । गत वर्ष केही दर्जन मात्र छानिए । बागबजारमा भाषा सिकाउने नाममा ट्युसन सेन्टर खोलेर काठमाडौं विश्वविद्यालयसँग मिली छात्रवृत्ति बेच्ने काम भएको दूतावासले पनि थाहा पायो । अहिले त्यस्ता अस्थायी ट्युसन सेन्टर बन्द भइसकेका छन् । पहिलो र दोस्रो वर्ष एकै जनाबाट तीन लाखदेखि ५ लाख रुपैयाँसम्म लिएर छात्रवृत्ति बेचिएको थियो । त्यत्तिका पैसा खर्च गरे पनि पाँच वर्ष पढ्न पाइने हुनाले पैसा तिर्न सबै तयार भएका थिए । चीन सरकारले मासिक २५ सय युआन अर्थात् लगभग ४० हजार रुपैयाँ दिँदै आएको थियो । बस्न सुविधा विश्वविद्यालयले दिने गर्छ भने खान ४० हजारबाट खर्च गर्नुपर्ने थियो । नेपाली विद्यार्थीलाई खानामा लगभग एक हजार युआन अर्थात् १७ हजार रुपैयाँजति खर्च हुन्छ । बाँकी मासिक २२ देखि २५ हजार रुपैयाँसम्म बचाउँछन् ।

कतिपय सानोतिनो व्यवसाय र जागिर नै छोडेर चीन गएका थिए । तर, अहिले बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालय अर्थात् बेइजिङ ल्यांग्वेज एण्ड कल्चर युनिभर्सिटीले १० जनाको छात्रवृत्ति रद्द गरेर फर्काएको छ । तीन वर्षअघि गएकाले जेनतेन दलाललाई दिएको पैसा छात्रवृत्ति रकमबाट पुर्ताल गरेका छन् भने दुई वर्षअघि मात्र गएकाले पैसा तिरिनसक्दै विश्वविद्यालयले फर्काएपछि पुर्परोमा हात राखी बसिरहेका छन् ।

भर्खरै बेइजिङबाट फर्किएका एकजना विद्यार्थीले जनआस्थासमक्ष आफूहरूको भविष्य डामाडोल भएको भन्दै निकै गुनासो गरे । राम्ररी पढिरहेका उनीहरूलाई एक महिनाअघि मात्र विश्वविद्यालयले छात्रवृत्ति रद्द भएको सूचना दिएको हो । त्यसरी फर्कनेमा पिताम्बर ओझा, दुर्गा भट्टराई, माहिर हुसेन, उमेश दुलाल, अर्जुन भण्डारी, सोम दर्लामी, शिशिर श्रेष्ठ, सागर खड्का, भुवन लामा र सुरजसिंह ठकुरी छन् । केही विद्यार्थीलाई अर्को सेमेस्टरमा फिर्ता पठाउन सक्ने पनि उनले बताए ।

खासमा उनीहरूलाई फिर्ता पठाएकोचाहिँ परीक्षा अनुत्तीर्ण भएकाले रहेछ । पहिले त उनले कुनै गल्ती नभएको र त्यत्तिकै विश्वविद्यालयले फिर्ता पठाएको बताए । त्यसो हो भने सबैजना दूतावास गएर संयुक्त निवेदन दिनुहोस् । अनि फेरि पढ्न पाउनुहुन्छ भनेर सुझाव दिँदा अकमकिँदै गुह्य खोले, ‘हामी त परीक्षा पास गर्न नसकेर विश्वविद्यालयले पठाएको हो । अब दूतावासले कसरी न्याय दिलाउला र खै !’
विश्वविद्यालयले आफूहरूलाई पहिले चेतावनी नदिएको र एकैचोटि फेल भयौ, अब पढ्न पाउन्नौ भनेर पठाएको हुनाले मौका परीक्षा पनि दिन नपाएको उनले सुनाए । भने, ‘सकेसम्म त मिहिनेत गरेर पढेकै हो तर चिनियाँ भाषै ज्याद्रो हुन्छ । पासै गर्न नसकिने । पहिले हामीलाई हस्ताक्षर गराएको सम्झौतामा फेल भएमा फिर्ता पठाउने भनेर उल्लेख रहेछ । त्यतिबेला वास्तै गरिएन । अहिले आफ्नै हस्ताक्षरले गर्दा फिर्ता आउनुप¥यो ।’ 

टिप्पणीहरू