वडा सम्मेलनको पूर्वसन्ध्यामा माओवादीले गर्यो अपिल

वडा सम्मेलनको पूर्वसन्ध्यामा माओवादीले गर्यो अपिल

नेकपा (माओवादी केन्द्र) ले भोलि देशैभर एकैसाथ वडा सम्मेलन गर्दैछ । संगठन विस्तार अभियानलाई तीव्र बनाएको माओवादीले सम्मेलनलाई रुपान्तरण अभियान भनेको छ । यसैबीच सम्मेलनको अघिल्लो दिन आज पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एकताबद्ध भएर सम्मेलनमा जुट्न कार्यकर्ता पंक्तिलाई अपिल गर्नुभएको छ ।

पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न सम्मेलन कोशेढुंगा साबित हुने महराको विश्वास छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूलध्येका साथ पार्टी काममा जुट्न पनि उहाँले जोड दिनुभएको छ ।‘देशमा आमूल परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हाम्रो पार्टीले अंगालेको समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन हुनु जरुरी छ’, महराले भन्नुभएको छ, ‘पार्टीको मुख्य आधार भनेको तल्लो तहमा रहेर काम गरिरहनु भएका आमनेता, कार्यकर्ता र जनसमुदाय हुनुहुन्छ ।’

महराले विभाजित मानसिकता त्यागेर सम्मेलनमा लाग्न अपिल पनि गर्नुभएको छ । अपिलमा भनिएको छ, ‘पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवम् मानसिकता नराखि एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ एवम् रुपान्तरित पाटी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछ ।’

आगामी पुस ११–१३ मा राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले भोलि वडा सम्मेलन, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलन गर्दै छ ।

टिप्पणीहरू