युवा खेलाडीको भरमा सबै क्लबले ‘ए’ डिभिजन लिग खेल्दै

युवा खेलाडीको भरमा सबै क्लबले ‘ए’ डिभिजन लिग खेल्दै

नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ संस्करण भोलिबाट शुरु हुँदैछ ।

केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधी लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ‘ए’ डिभिजन लिग खेल्दैछन् भने धेरैजसो क्लबको लक्ष्य उपाधी रहेको छ । पहिलो खेल भोलि यस वर्षको सिजनमा बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्दै लिगको शुरुआत गर्दा नयाँ सिजनको सहिदस्मारक ‘ए’ डिभिजन लिग पनि आरम्भ हुनेछ ।

सहभागी सबैजसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने उद्घाटन खेल फ्लड लाइटमा हुँदैछ ।

लिग शुरु हुन पूर्वअखिल नेपाल फुटबल संघ एन्फाले लिगअघि आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । शुरुआती दुई चरणका लागि जारी गरेको तालिकाअनुसार उद्घाटन पछिका खेल पनि सबै दशरथ रंगशालामा आयोजना हुँदैछन् ।

दिनमा दुई खेल हुने प्रतियोगिताको पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने ५ बजे शुरु हुनेछ । दिनको दोस्रो खेल सबै फ्लड लाईटमा खेलाइने एन्फाले यसअघि नै जानकारी गराएको छ ।

१४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । लिगको बिजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ ।

यस्तै हरेक खेलको बिजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुबै टोलीले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

टिप्पणीहरू