​नीलकण्ठले यसरी जोडे नम्बर !

भारतका लागि राजदूत सिफारिस गरिएका नीलकण्ठ उप्रेती धादिङबाट पर्वत बसाइँ गएका, चितवन, गीतानगरस्थित अरुणोदय माविबाट २०२५ सालमा दोस्रो श्रेणीअन्तर्गत एसएलसी पास गरी काठमाडौं छिरेका र अहिले नेताहरुको प्यारो बनेर विशेष अवसर पाएका व्यक्ति । 

उनी राजदूत बनेर भारत जालान्, नजालान्– यसको छिनोफानो समयमै लागिहाल्छ । तर, प्रमुख निर्वाचन आयुक्त हुँदा के–के गरे ? स्मरण हुन थालेको छ । ०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा दोस्रो संविधानसभा निर्वाचनको सिफारिस भयो । तर, हुन नदिन कस्सिए नीलकण्ठ ।

चुनावको मिति तोक्न प्रधानमन्त्रीले क्याबिनेट बैठक बोलाए । संविधानसभाको म्याद तीन महिना थप्नका लागि तत्कालीन उपप्रधान तथा कानुन मन्त्रीको हैसियतमा कृष्ण सिटौलाले संसदमा विधेयक पेश गरेका थिए । पार्टी सभापति सुशील कोइरालाले पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरे । त्यसपछि एक साताअघि मात्रै कृष्ण सिटौलाको नेतृत्वमा सरकारमा गएको कांग्रेस र ईश्वर पोखरेलसहितको एमाले टोलीलाई फिर्ता हुन निर्देशन भयो । कांग्रेस, एमाले र माओवादीको संयुक्त सरकार इतिहासमै पहिलोचोटि बनेको थियो । नीलकण्ठलाई बाबुरामले निर्वाचन कहिले हुने गरी तोकौँ भनी सोधे । नीलकण्ठले आफू पदबाट हट्नु दुई दिनपछिको मिति दिए । त्यस्तोमा निर्वाचन आयोग खाली रहेको अवस्था हुन्छ ।

खाली भएको आयोगले कसरी चुनाव गराउने ? उनले अन्तर्वार्ता दिएरै भने, ‘यो चुनाव हुनुहुँदैन, दलहरुले यसमा भाग लिनुहुँदैन ।’ प्रचण्ड पनि चाहन्थे, बाबुरामको नेतृत्वमा चुनाव नहोस् । बरु, उनी सुशील कोइरालाको नेतृत्वमा भए चुनावमा जान राजी थिए । यस्तो बवण्डरको बीचमा खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष तोकिए । बाबुरामचाहिँ न चुनाव हुन दिने, न बजेट ल्याउन दिने भनेर सरकार छाड्न बाध्य भए । मतलब के हो भने, नीलकण्ठ त्यहीबेलादेखि प्रयोग गरिएका पात्र थिए । 

टिप्पणीहरू