एमाले महासचिव पौडेल कि पोखरेल ?

एमाले महासचिव पौडेल कि पोखरेल ?

नेकपा एमालेमा महाधिवेशन प्रतिनिधि छनौट धमाधम भइरहेको बेला कात्तिक ३० गते बिहानै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो । महाधिवेशनको लोगोमा स्थायी कमिटी सदस्य शंकर पोखरेलको फोटो राखेर महासचिवको उम्मेदवारका रुपमा प्रचार गरिएको उक्त फोटोले एमाले पंक्तिमा तरङ्ग ल्याएको छ ।

पोखरेलकै योजनामा उनी निकटस्थहरुले उक्त प्रचार गरेको एमाले नेताहरुको बुझाइ छ । केही नेताले त उम्मेदवारीबारे पोखरेलसँग जिज्ञासासमेत राखेको बुझिएको छ । तर, पोखरेल भने यसबारे आफूलाई केही जानकारी नभएको भन्दै पन्छिएका छन् ।

पोखरेलले सोच विचार गरेरै उक्त फोटो सार्वजनिक गर्न लगाएको एकथरिको दाबी छ । एक नेताका अनुसार कार्यकर्ताको मनोविज्ञान बुझ्ने र अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढाउने उपायस्वरुप उनी निकटस्थले यस्तो चलाखी गरेका हुन् । खासगरी एउटै भूगोलका उपमहासचिव विष्णु पौडेललाई सके रोक्न र नसके तर्साउन यस्तो जुक्ति निकालिएको समेत भन्न थालिएको छ ।

‘ओलीले चाहेअनुसार नै हुन्छ भन्नेमा शंकर क्लियर छन् । तर एकछत्र रुपमा विष्णु पौडेललाई महासचिव छाड्न हुँदैन भनेर सुझबुझपूर्ण तरिकाले त्यसो गरिएको हो ।’

त्यसो त,एमालेमा पोखरेल र पौडेल दुबै अध्यक्ष ओलीका खास सहयोगीको रुपमा परिचित छन् । अध्यक्षपछिको कार्यकारी पद भएकाले ओलीले उनीहरु दुई मध्येबाटै एकजनालाई महासचिव बनाउने लगभग निश्चित छ । यद्यपि यसबारे ओली र पौडेल दुबै बोलेका छैनन् । तर, ओलीले इशारा नगर्दासम्म धारणासमेत नराख्ने पोखरेलले बालकोटलाई थाहै नदिई आफूलाई महासचिवमा प्रचार गरेकोप्रति भने एकथरी नेताहरु छक्क परेका छन् ।

बताइएअनुसार ओलीले पौडेललाई अघि सार्ने छनक पाएपछि पोखरेलले आफ्नो दाबेदारी कायम रहेको सन्देश दिन यस्तो फर्मूला अपनाएका हुन् । ‘यसो बजारमा छाडिदिउँ । थाहा नपाएको भनिदिउँ । विष्णु पौडेल मात्र होइन महासचिवमा मेरो पनि दाबेदारी छ है भन्ने देखाउन उनले योजनाअनुसार नै फोटो सार्वजनिक गराएका हुन्,’ लुम्बिनीतिरकै एक एमाले नेता भन्छन् । उनी प्रष्ट पार्दै अगाडि भन्छन्, ‘ओलीले चाहेअनुसार नै हुन्छ भन्नेमा शंकर क्लियर छन् । तर एकछत्र रुपमा विष्णु पौडेललाई महासचिव छाड्न हुँदैन भनेर सुझबुझपूर्ण तरिकाले त्यसो गरिएको हो ।’

यता, ओलीले भने आफू अध्यक्ष बनेर महासचिवमा पौडेललाई ल्याउने तयारी गरिसकेको बताइन्छ । नेकपाजस्तो विशाल पार्टीको महासचिव चलाइसकेका र सांगठनिक पकड बलियो बनाएका कारण ओलीको रोजाइमा पौडेल परेका हुन् । राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका र फरक राजनीतिक कित्ताका मान्छेलाई समेत सहजै समन्वय गर्न सक्ने खुबीका कारण पनि पौडेलले ओलीको मन जितेको धेरै एमाले नेताहरुको बुझाई छ ।

ओलीले पोखरेल छाडेर पौडेल रोज्नुको अर्को महत्वपूर्ण कारण हो बालुवाटार जग्गा प्रकरण । पौडेल बालुवाटार जग्गा प्रकरणमा मुछिएकाले आगामी संसदीय चुनावमा विपक्षीहरुले त्यसैलाई मसला बनाएर हराउने ओलीको आकलन छ । त्यसकारण चुनावी राजनीतिबाट ब्याक गराएर भए पनि पौडेललाई पार्टी राजनीतिमा स्थापित गर्ने ओलीको चाहनाका कारण पौडेल बलिया बनेका हुन् ।

कुनै पनि बेला आफ्नो स्वास्थ्य तलमाथि हुनसक्ने सम्भावनालाई समेत हेरेर ओलीले देशभरको संगठन बुझेको र नेतृत्व सम्हाल्न सक्ने क्षमता भएका पौडेललाई महासचिव बनाउन चाहेको जानकारहरु बताउँछन् ।

टिप्पणीहरू